अक्सिजन अभाव भएपछि अस्पतालबाट बिरामी निकालिए

everest kitchen
photo file

काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो ।

अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख थियो । सूचनापछि उपचाररत कोरोना संक्रमित र उनका आफन्त आत्तिए । ‘राति पनि अक्सिजन चाहिनेजति दिइएन । बिहान त अक्सिजनै सकिने सूचना आयो,’ एक संक्रमितका आफन्तले भने ।

नेपाल मेडिकल कलेजको अस्पतालमा अक्सिजन सपोर्टमा ९९ संक्रमित उपचाररत थिए । भनसुन गरेर र पालो कुरेर बल्ल बेड पाएकाहरू धेरै थिए । उक्त सूचनापछि बन्दोबस्त मिलाएर २२ जना अन्यत्रै गएका छन् । जसमा आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमित पनि छन् ।

संक्रमितको संख्या हरेक दिन बढे पनि अक्सिजन पाउनै समस्या भएपछि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका निर्देशक डा। राजेशकिशोर श्रेष्ठले बताए ।

‘म आफैं रातभरि लाइन बसें । यता अस्पतालमा अक्सिजन सकिन लाग्यो भनेर बारम्बार फोन आउँथ्यो । लाइन बस्दाबस्दै अक्सिजन भर्ने मेसिन बिग्रियो भनेपछि के हुन्छ होला अरु’ उनले भने, ‘अक्सिजन सकिन लाग्यो भनेर बिरामी पनि रुन थाले । अक्सिजन नभएकैले हुन सक्ने दुर्घटना रोक्न बिरामी डिस्चार्ज गर्न बाध्य भयौं ।’ डा श्रेष्ठले अक्सिजन प्लान्टमा लाइन बसेका बेला पनि अरूले पालो मिच्ने गरेको सुनाए । उनले अब नयाँ बिरामी पनि नलिने निधो गरेको बताए ।

ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पनि अक्सिजन अभावकै कारण थप संक्रमित भर्ना लिन छाडेको भन्दै मंगलबार विज्ञप्ति जारी गरेको छ । अस्पतालले विज्ञप्तिमा भर्ना भएका संक्रमितलाई पनि अक्सिजन अभावका कारण उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने जनाएको छ । कान्तिपुर दैनिकबाट