ईजरायलवासी नेपालीहरुको लागि नेपाली राजदुतावासको यी सुझाव

everest kitchen

 

काठमाडौं । ईजरायल र प्यालेस्टाइन बीचको तनावलाई लिएर नेपाली राजदुतावास ईजरायलले त्यहाँ स्थित नेपालीहरुमा सुरक्षित रहन अनुरोध गरेको छ । दुतावासले एक सुचना जारी गर्दै के कस्ता सुरक्षा सावधान अपनाउने र त्रसित नहुने बारे केही सुझावहरु दिएको छ ।

दुतावासको सन्देश यस्तो छ:
पछिल्लो समय ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएको तपाईंहरुलाई थाहै छ। मे १० देखि जेरुसेलम, दक्षिण ईजरायली क्षेत्रका साथसाथै तेलअबिब लगायतका केन्द्रमा समेत गाजा क्षेत्रबाट हजारौँको संख्यामा रकेट आक्रमण हुने क्रम नरोकिएका कारण यसले तपाईं हामी सबैलाई त्रसित बनाएको छ। तसर्थ, परिस्थितिलाई नजरअन्दाज नगर्न तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न हामी ईजरायलवासी सम्पूर्ण नेपालीहरुमा पुनः हार्दिक अपिल गर्दछौं। उपरोक्त सन्दर्भमा हामी निम्न अनुरोध गर्न चाहन्छौं-

— खासगरी साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जानुहोला, अल्छी पटक्कै नगर्नुहोला। झ्याल नजिक तथा भित्तामा खस्नसक्ने सामानको नजिक नजानुहुन।

— यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) हुनुहुन्छ भने पनि नजिकैको बङ्करमा पुगिहाल्नुहुन र त्यो पनि उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ घोप्टो परेर दुई हातले टाउको छोपेर बस्नुहुन।

— केही साथीहरुले रकेट लन्च भैरहेको बेलामा छतबाट हेर्ने, फेसबुक लाइभ गर्ने र भिडियो बनाउने गर्ने गरेको देखिएकोले त्यसो नगर्न।

* अप्ठ्यारो परिस्थिति छ, हामी त्रसित छौं। यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा सेयर गरेर नेपालमा रहेका परिवारलाई त्रसित नगराउन (तर सही सूचना छ भने चाहिँ ह्वाटसप वा मेसेन्जरबाट साथीहरुसङ्ग सेयर गरौं।)

— कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्नुहुन।

आशा गरौँ यो समय छिटै बितेर जानेछ। अपेक्षित न्यूनतम आचारसंहिता समेतको पालना नगरी मानवता समाप्त पार्न उद्धत दुवै पक्षले परिस्थितिलाई सामान्यीकरण गर्ने दिशामा काम गर्न सकून्, शान्ति फर्केर आओस्, तपाईंका हरेक भोगाइहरुमा दुतावास सदैव साथमा रहेको छ, रहनेछ।

डा. अन्जान शाक्य राजदूत तथा नेपाली राजदूतावास परिवार, तेल अबिब, ईजरायल। सम्पर्कका लागि: १. श्री अर्जुन घिमिरे, द्वितीय सचिव – ०५२८२८९३०० २. श्री प्रदीपसागर गिरी, सहचारी – ०५४३३०६०७०