इराक विरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप फुटबल छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

everest kitchen

काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप फुटबल छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले मङ्गलबार टोलीको घोषणा गरेका छन । टोलीमा भरत खबास, रञ्जित धिमाल, अमित तामाङ, शेषेहाङ आङ्दम्बे, रविशंकर पासवान, निशान खड्का, विवेक बस्नेत, नीतिन थापा र दर्शन गुरुङ अटाउन सकेनन् । बन्द प्रशिक्षणमा यी नौ जना खेलाडी सहभागी भएका थिए ।

किरणकुमार लिम्बू पहिलो रोजाइका गोलरक्षकसँगै विशाल सुनार र दीप कार्की गरी थप दुई जना गोलकिपरले टोलीमा स्थान पाएका छन् । त्यसैगरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पूजन उपरकोटी, एरिक विष्ट, सुमन लामा टोलीमा अटाएका छन् । २३ सदस्यीय टोलीमा अञ्जन विष्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, अयूष घलान, सूरज जेउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजवंशी र बिकास खवास समेत समावेश गरिएका छन् ।

नेपालले विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको खेल पूर्व इराक विरुद्ध मैत्रीपूर्ण म्याच खेल्नेछ । उक्त खेल मई २९ को दिन इराकको बसरा शहरमा हुनेछ । लगत्तै नेपाली राष्ट्रिय टोली विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ । कुवेतमा नेपालले छनोट अन्तर्गतको पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्नेछ । जुन ३ मा हुने पहिलो खेलपछि नेपालले जुन सातमा जोर्डनको सामना गर्नेछ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जुन ११ मा अष्ट्रेलिया विरुद्ध स्पर्धा गर्नेछ ।