स्पेनले पठाएको विशेष विमान बिहीबार काठमाडौँ आउँदै

everest kitchen

काठमाडौं । भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर तथा व्यक्तिगत सुरक्षा उपकरणलगायत सामग्रीसहित स्पेनले पठाएको विशेष विमान बिहीबार काठमाडौँ आउँदैछ । स्पेन सरकारका तर्फबाट ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न त्यहाँका अन्तरराष्ट्रिय विकास सहयोग नियोग (एइसिआइडी)का निर्देशक माग्दे मार्टिन्ज सोलीमान सोही विमानमा नेपाल आउँदै छन ।

यसैबीच स्पेनले नेपाललाई द्विपक्षीय तह, युरोपेली सङ्घमार्फत र अन्य माध्यमबाट सघाउने बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका बाह्य मामिला, युरोपेली सङ्घ तथा सहायतामन्त्री अरञ्चा गोञ्जालेज लायाबीच आज भएको टेलिफोन वार्तालापमा स्पेनले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको हो । मन्त्रीद्वयबीचको कुराकानीका क्रममा नेपाल–स्पेन सम्बन्धका विविध पक्षका साथै सहयोगबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिकित्सा उपकरण एवं सामग्रीको उदार सहायताका निम्ति स्पेन सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री ज्ञवालीले कोभिड –१९ को बढ्दो नयाँ लहरविरुद्ध जुधिरहेको नेपाललाई मित्रवत् स्पेनी सरकार र जनताबाट प्राप्त सहयोग अतिमहत्वपूर्ण भएको बताए । स्पेनीमन्त्री लायाले निषेधाज्ञाका कारण बिचल्लीमा परेका आफ्नो देशका नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले निर्वाह गरेको सहजकर्ताको भूमिकाको सराहना गरेकाे पनि मन्त्रालयले जनाएको छ ।