मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुको अपिल

everest kitchen

 

काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपील गरेका छन् । जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका विभिन्न व्यक्तित्वहरुबाट यस्तो अपिल गरिएको हो ।

डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रीराज पाण्डे, डा. सुजनबाबु मरहट्टा, डा. अरुणा उप्रेती डा. समीरमणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बीसी र डा. कृष्णमान शाक्यद्वारा आइतबार जारी संयुक्त विज्ञप्तिमा संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाले जनस्वास्थ्यकर्मीहरु चिन्तित रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालको शय्या नपाएर कोभिडका बिरामीहरु छट्पटाइरहेको बेला, आवश्यक औषधि र अक्सिजन नभएर स्वास्थ्यकर्मीले अथक प्रयास गर्दा-गर्दै पनि अस्पतालको शय्यामा बिरामीहरुले ज्यान गुमाउनु परेको यो मार्मिक घडीमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण हो’ ।

घोषित निर्वाचनमा देशमा भएको सीमित स्रोतको ठूलो अंश खर्च हुने र कोभिडमा आवश्यक पर्ने स्रोतमा कटौती भएर नागरिकले कोभिडको सेवाबाट बन्चित हुनुपर्ने र असीम पीडा भोग्न बाध्य हुनुपर्ने अवस्थाप्रति उनीहरुले चेतावनी दिएका छन् ।

निर्वाचनको लामो प्रक्रिया आफैं कोभिड संक्रमणको माध्यम बनेर महामारीको भयावह स्थिति बन्न सक्ने जोखिम रहेको भन्दै जनस्वास्थ्यकर्मीहरुले अन्य देशको उदाहरणबाट पनि सरकारले पाठ सिक्नुपर्ने बताएका छन् ।