नेपालमा कोभिड–१९ को सङ्क्रमण दर यस साता घट्यो

everest kitchen

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेकोे जानकारी दिइएको छ ।

इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गरेका छन ।

पछिल्लो २४ घण्टामा सात हजार ९१४ सङ्क्रमित भेटिएका छन् । शनिबारको तुलनामा आज भेटिएका सङ्क्रमितको सङ्ख्या कम हो । शनिबार आठ हजार ९८० सङ्क्रमित फेला परेका थिए । उनका अनुसार वागमती, गण्डकी र लुम्बनी प्रदेशमा सङ्क्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ ।

वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९.१ प्रतिशत सङ्क्रमण दर घटेको छ । सबभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण दर फैलिएको छ । प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले सङ्क्रमण बढेको छ । प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले सङ्क्रमण दर बढेको पाइएको छ । उनले सङ्क्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने बताए ।

यस्तै जिल्लागत रूपमा ५० जिल्लामा सङ्क्रमणको दर व्यापक रुपमा फैलिएको उनको भनाइ छ । प्रतिलाख जनसङ्ख्यामा २७.८ जनामा दैनिक सङ्क्रमण छ । उनले गत वर्षभन्दा यस वर्ष तीन गुणाले सङ्क्रमण दर फैलिएको बताए । गत वर्ष असोजमा प्रतिदश लाख जनसङ्ख्यामा १३१.७ जनामा दैनिक सङ्क्रमणको दर रहेको थियो भने यसपटक जेठमा नै ३०७.६ जनामा सङ्क्रमणको दर रहेको उनको भनाइ छ ।

सङ्क्रमणको पोजिटिभ हुने दर पनि गत वर्षभन्दा यस वर्ष दोस्रो लहरमा बढेको पाइएको छ । गत वर्ष २५.२ प्रतिशतमा पोजेटिभ दर रहदा यस वर्ष ४६.७ प्रतिशत रहेको छ । इपिडिमियोलोजिष्ट डा श्रेष्ठले सङ्क्रमणबाट निधन हुने गत वर्षभन्दा यस वर्ष बढी रहेको जानकारी दिए ।

उनका अनुसार यस वर्ष सङ्क्रमितमध्ये १.३१ प्रतिशतको निधन र गत वर्ष ०.७५ प्रतिशतको निधन भएको थियो । अहिले हरेक उमेर समूहमा सङ्क्रमण बढेको कारणले मृत्युदर बढिरहेको उनको भनाइ छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सबभन्दा बढी १० जिल्लामा सङ्क्रमणको जोखिम रहेको बताए ।

उनका अनुसार काठमाडौँ, रुपन्देही, ललितपुर, बाँके, भक्तपुर, मोरङ, कास्की, कैलाली, दाङ र चितवन जोखिम बढी रहेका छन् । उनका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण घट्दै र उपत्यका बाहिर बढ्दै गएको छ । उनले चैत अन्तिम सातादेखि जेठको पहिलो हप्तासम्म सबैभन्दा दु््रत गतिमा सङ्क्रमण बढेको बताए ।