राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी हुँदा सप्तरीमा खुशियाली

everest kitchen

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ आज जारी गरेका छन । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन ।

नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुशीयालीमा आज साँझ सप्तरीमा मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुशीयालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ । गजेन्द्रनारायण सिंहको शालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले मैनबत्ती प्रजवलन गरेका छन् ।

कार्यक्रममा महन्थ ठाकुर र राजेन्द्र महतो समर्थित जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवसहित जिल्लाका नेताको सहभागिता थियो । जसपाको मूल मागका रूपमा रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी भएकोे खुशियाली मनाइएको जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए । यसैगरी राष्ट्रिय एकता अभियानले पनि मैनबत्ती प्रज्वलन गरी खुशीयाली मनाएको छ । नागरिकतासम्बन्धी अध्यादेशले जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिने र बाबुको पहिचान नभएका नेपाली महिलाका सन्तान र जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको कानून, न्याय तथा संसदीयमामिलामन्त्री लीलानाथ श्रेष्ठले बताएका छन । संविधानले नै जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेबमोजिम संविधानले प्रत्याभूत गरेका अधिकारबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर अध्यादेश ल्याउनु उपयुक्त भएको नेकपा (एमाले)का नेता अशोक यादवले बताए ।