मलेसियामा दुई रेल आपसमा ठोकिदा करिब २०० भन्दा धेरै घाइते

everest kitchen
फोटो : मर्मतको लागि बन्द गरिएको केएलसीसी स्टेसन

काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुर केएलसीसी नजिकै दुई रेल एकआपसमा ठोक्किँदा करिब २ सय मानिसहरु घाइते भएका छन् । क्वालालम्पुर नजिकैको सुरुङमा एउटै ट्याकमा आइरहेका दुई रेल एकआपसमा ठोक्किएका हुन् ।

सोमबार स्थानीय समयअनुसार राति पौने ९ बजे उक्त दुर्घटना भएको हो । स्थानीय जिल्ला प्रहरी प्रमुख मोहम्मद जाइनल अब्दुल्लाहले दुईमध्ये एउटा भर्खरै रेल मर्मत गरेर रोकेर राखिएको र अर्को रेलमा भने २१३ यात्रुहरु सवार रहेको जानकारी दिए । घाइतेमध्ये ४७ जनाको अवस्था गम्भीर देखिएको अब्दुल्लाहले बताए ।

यात्रुवाहक रेल स्वचालित रेल थियो भने खाली रहेको रेल परम्परागत रेल थियो । अहिले यो घटनाको विषयमा अनुसन्धान भइरहेको अब्दुल्लाहले बताए । अपरेसन नियन्त्रण केन्द्रबाट भएको गलत सूचनाको अनुसार यो दुर्घटना भएको हुन सक्ने उनको भनाइ छ ।

दुई रेलहरु किन फरक फरक दिशातर्फ एउटै ट्र्याकमा हिडिँरहेका थिए भने अहिलेसम्म स्पष्ट भएको छैन । दुर्घटनामा ४७ जना गम्भीर घाइते भएका छन् उनीहरूमध्ये अधिकांसलाई उपचारका लागि अस्पताल क्वालालम्पुर पठाएको छ ।