रुकुमको त्रिवेणी गाउँपालिका अस्पतालको आइसोलेसन सेन्टर खाली अवस्थामा

everest kitchen
त्रिवेणी गाउँपालिका अस्पताल

विपेन उलङगे
रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाको खारानेटा स्थित त्रिवेणी गाउँपालिका अस्पतालद्धारा सञ्चालित कोभिड-१९ आईसोलेसन सेन्टर खाली अवस्थामा रहेको छ । उक्त आइसोलेसन सेन्टर केही दिनदेखि खाली अवस्थामा रहेको हो ।

केही दिनअघि सम्म दर्जनौं कोभिड-१९ का बिरामी रहेको उक्त अस्पतालमा भर्ना भएका सबै बिरामी डिस्चार्ज भएपछि आइसोलेसन सेन्टर खाली अवस्थामा रहेको उक्त गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम पुनले जानकारी दिए । उनका अनुसार करिब १ महिना अघि एक संक्रमितको निधन भएपनि अन्य सबै बिरामीको सफल उपचारपछि डिस्चार्ज भएका हुन ।

advertise

अस्पतालले हाल अन्य बिरामीको उपचार तथा भर्ना नलिएर कोभिड-१९ संक्रमित बिरामी उपचारको लागि तयारी अवस्थामा रहेको बताएको छ । अस्पतालमा हाल एक एमबीबीएस डाक्टरसहित स्वास्थ्य सेवा सुचारु रहेको छ। अस्पतालको आइसोलेसन सेन्टरको लागि आवश्यक अक्सिजन तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर अस्पतालले सेवा दिईरहेको संयोजक पुनले बताए ।

संयोजक पुनका अनुसार त्रिवेणीमा हालसम्म १३९ जनामा संक्रमण पुष्टि भएकोमा हाल ३३ जनामा सक्रिय संक्रमण रहेको छ । जस्मा २३ पुरुष र १० महिला रहेका छन् । ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेकोले घरमै आइसोलेसन बसेका छन् । लक्षण देखिएका संक्रमित र स्वास्थ्य अवस्थामा समस्या रहेका बिरामीलाई अस्पताल भर्ना गरेर उपचारको व्यवस्था रहेको उनले बताए ।

त्रिवेणीमा हालसम्म ८ जनाको कोभिड-१९ संक्रमणबाट निधन भएको छ । जसमध्ये एक महिलाको गत बर्ष घरमै निधन भएको थियो भने एक पुरुषको गाउँपालिका अस्पतालमा र अन्यको अन्य अस्पताल तथा अन्य स्थानमा निधन भएको थियो ।