सुकेटार विमानस्थलको नामकरण परिवर्तन नगर्न योगेश भट्टराईको आग्रह

everest kitchen

काठमाडौं । ताप्लेजुङ्का राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिइएको थियो । यसपछि जिल्लावासीले यसमा असन्तुष्टि जनाउँदै आएको छन् । सामाजिक सञ्जालमा विमानस्थलको नयाँ नामकरणका नगर्न सरकारलाई सुझाव दिइएको छ ।

निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का नेता योगेश भट्टराईले ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्ने बताएका छन । उनले यसरी गर्दा मात्र सहभागिता मूलक लोकतन्त्र बलियो हुन सक्ने बताएका छन । भट्टराईले असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्ने बताए ।

विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाग्रस्त भई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।