इराकसँगको हारको कारण नेपालको रक्षापङ्क्ति कमजोर

everest kitchen

काठमाडौं । शनिबार राति सम्पन्न एक मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो । इराकसितको खेलमा नेपालको रक्षापङ्क्ति निकै कमजोर देखियो । जसको फाईदा उठाउदै मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो । मध्यान्तरपछिको खेलमा इराकले थप दुई गोल गरेको थियो । खेलमा इराकले शुरुआती अग्रता लिएको थियो । इराकका लागि खेलको सातौँ मिनेटमा कप्तान अला अब्दुल जहर खासिनले पहिलो गोल गरेका थिए । खासिनले प्रहार गरेको फ्रिकिकको नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउ गर्न सकेनन । लगत्तै इराकी खेलाडीले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गरे ।

खेलको आठौँ मिनेटमा इराकका अहमद इब्राहिमले आत्मघाती गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याए । त्यसपछिको २२ मिनेटसम्म दुवै पक्षबाट गोल हुन सकेन । सो क्रममा दुवै पक्षबाट गोलको उत्कृष्ट प्रयास भएका थिए । खेलको ३०औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गरे । उनले आफ्नो डेब्यू खेलमा उत्कृष्ट गोल मात्रै गरेनन नेपाललाई २–१ गोलको अग्रता दिलाए । तर अग्रतालाई कायमै राख्न सकेको भए नेपालले फुटबलमा निकै बलियो मानिएको इराकलाई उसकै घरेलु मैदानमा पराजित गर्ने इतिहास नै बनाउँथ्यो ।

पहिलो हाफको अन्तिम समयमा इराकी खेलाडीले थप तीन गोल गर्दै नेपाली फुटबल प्रेमीहरुलाई निराश पारे । खेलको ३५औँ मिनेटमा इराकी खेलाडी मोहम्मद अब्दुल जारा ओबेदले दोस्रो गोल गरे । यही बीचमा नेपाली टोलीका महत्वपूर्ण खेलाडी रोहित चन्द टाउकोमा चोट लागेपछि मैदानबाट बाहिरिए । यही मौकामा खेलको ४०औँ मिनेटमा तथा इन्जुरी समयमा इराकी खेलाडी अयमन हुसेनले खेललाई ४–२ को अवस्थामा पु¥याए । मध्यान्तरपछिको खेल नेपालले निकै दबाबमा खेल्नुप¥यो । यद्यपि इराकलाई मध्यान्तरअघिको खेलमा जस्तै धेरै गोल गर्न भने नेपाली टोलीले दिएन । खेलको ६७औँ मिनेटमा इराकका लागि मोहनाद अली अल्सामरीले गोल गर्दै ५–२ को अवस्थामा पुर्याए । यस्तै खेलको ७५औँ मिनेटमा सज्जाद जासिमले गोल गर्दै इराकलाई ६–२ गोलअन्तरले विजयी गराए । नेपाली गोलरक्षक चेम्जोङले पहिलो हाफको तुलनामा मध्यान्तरपछिको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे ।

नेपालले इराकसित दुई दशकपछि फुटबल खेलेको हो । यसअघि नेपालले इराकसित सन् २००१ मा खेलेको थियो । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको वरियताअनुसार नेपालभन्दा इराक १०३ स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा इराक ६८औँ स्थानमा छ भने नेपाल १७१औँ स्थानमा छ । कोरोना भाइरसको महामारीका कारण शनिबारको खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली फुटबल टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ । मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एशियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका थिए ।

समूह बी मा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल पनि हाल नेपाली टोलीका साथ इराकमै रहेका छन । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।