तीन देशका लागि हवाई उडान खुला, नेपाल आउँदा पालना गर्नुपर्ने कुरा के हो

everest kitchen

बीबीसी नेपाली । सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो। “टर्किश एअरलाइन्सले बिहीवारबाट उडान गर्नका लागि आवेदन नै दिइसक्यो। अब नेपाल एअरलाइन्स र चिनियाँले दिन्छन्,” उनले भने। प्रवक्ता क्षेत्रीका अनुसार यसै साताबाट तीनवटै स्थानमा उडान सुरु हुनेछ।

बिहीवार बसेको मन्त्रिपरिषद्‌को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो। यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल-भारतबीच हप्तामा एक-एकवटा उडान गर्दै आएका छन्। त्यसबाहेक आन्तरिकका साथै अन्तर्राष्ट्रिय नियमित उडानहरू अहिले स्थगित छन्। कोरोनाभाइरस नियन्त्रण तथा रोकथामको प्रयासमा चालिएका प्रतिबन्धात्मक कदमसँगै वैशाख तेस्रो सातादेखि नियमित उडानहरू पनि रोकिएका छन्।

नेपाली र विदेशी नागरिकका लागि नयाँ मापदण्ड

सङ्क्रमण नियन्त्रण तथा रोकथाममा प्रतिकूल असर नपर्नेगरी नेपाल आउने नेपाली र विदेशी नागरिकको आवागमन व्यवस्थित गर्न भन्दै सरकारले सोमवार नयाँ मापदण्ड जारी गरेको छ। मन्त्रिपरिषद्ले जारी गरेको मापदण्डमा आवतजावतदेखि होटल क्वारन्टीन र होम क्वारन्टीसम्मका विषय समेटिएका छन्।

मुख्य बुँदा यस्ता छन्ः

  • पछिल्लो ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट र १० दिनका लागि होटल बुकिङ गरेको प्रमाणका आधारमा नेपाल आउने अनुमति पाइने
  • नेपाल आइसकेपछि आफ्नै खर्चमा १० दिन अनिवार्य होटल क्वारन्टीनमा बस्नुपर्ने
  • होटल क्वारन्टीनपछि लक्षण देखिएमा पीसीआर परीक्षण गराउनुपर्ने र पोजिटिभ रिपोर्ट आएमा भनिए बमोजिमका आइसोलेशनमा बस्नुपर्ने   
    • अन्तिम संस्कारमा सहभागी हुन विदेशबाट आउने व्यक्तिहरूलाई स्थानीय तहको सिफारिशमा कम्तीमा १० दिन अनिवार्य होम क्वारन्टीनमा गन्तव्यमा जान दिइने
    • होम क्वारन्टीनमा बस्दा आफ्नै खर्चमा एघारौँ दिन पीसीआर परीक्षण गराउनुपर्ने
    • खाडी मुलुक र मलेशियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हकमा पाँच दिन अनिवार्य होटल क्वारन्टीन बसेर पीसीआर नेगेटिभ आएपछि १० दिन होम क्वारन्टीनमा बस्नेगरी जान दिइने
    • कोभिड नियन्त्रणसम्बन्धी कार्यमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीको हकमा स्वास्थ्य मन्त्रालयले तोकेको वासस्थानमा अनिवार्य १० दिन क्वारन्टीन बस्ने गरी जान दिइने
      • क्वारन्टीन अवधि पूरा गरी गन्तव्यमा जान खोज्ने सबैलाई प्रस्थानका लागि स्थानीय प्रशासनले सहजीकरण गर्ने
      • स्वीकृत उडानमार्फत् नेपाल आउने यात्रुले पर्यटन विभागमा दर्ता भएका तीन चार र पाँच तारे होटलमा क्वारन्टीनका लागि बुकिङ गर्न सक्ने
      • नेपाल आउने जोकोहीले जनस्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरेको पाइएमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारबाही हुने

        अध्यादेशमा गरिएका व्यवस्था

        • मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे १०० रुपैयाँ जरिवाना
        • आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे २०० रुपैयाँ जरिवाना
        • अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुईपाङ्ग्रे सवारी भए २,००० र अन्य सवारी भए ५,००० रुपैयाँ जरिवाना

        त्यसैगरी अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछन्।