क्रिकेटको कालो अध्यायका एक खलनायक, जसले विमान दुर्घटनामा आफ्नो ज्यान गुमाए

everest kitchen

एजेन्सी । सन २००२ जुन १ तारिखमा विश्व क्रिकेट एक ठूलो दुर्घटनाको प्रत्यक्षदर्शी बन्यो । आजैका दिन, अर्थात १९ बर्ष पहिले दक्षिण अफ्रिकी पूर्व कप्तान हान्सी क्रोन्जे एक विमान दुर्घटनामा मारिए । दक्षिण अफ्रिकाको पश्चिमी केपको एक शहर जर्ज नजिकै यो दुर्घटना भएको थियो । उनको मृत्यु रहस्य जस्तै बनेको छ जसको कारण अहिले सम्म खुलाइएको छैन । तर त्यो घटनाको दुई बर्ष अगाडी उनी म्याच फिक्सिंगमा परेर आफ्नो क्रिकेट करियरलाई बर्बाद बनाएका थिए ।

सन २००० लाई विश्व क्रिकेटको सबैभन्दा कालो अध्याय मानिन्छ। यो वर्ष क्रिकेटमा फिक्सिंगमा ठूलो रहस्य खुलासा हुदा विश्व क्रिकेट मै हलचल मच्चिएको थियो । दक्षिण अफ्रिकाका तत्कालीन कप्तान हान्सी क्रोन्जे यस कालो अध्यायको खलनायक बनेका थिए। सन २००० अप्रिल ११ मा, क्रोन्जेले फिक्सिंगमा उनको प्रमुख भूमिका रहेको स्वीकार गरे। अप्रिलको शुरुवातमा फिक्सिंगमा क्रोन्जेको संलग्नता रहेको रिपोर्टहरु बाहिर आएको थियो । जुन फोन कुराकानीमा आधारित रहेको थियो। तर क्रोन्जेले आफुमाथी लागेको म्याच फिक्सिंगको आरोपलाई गलत बताईरहेका थिए ।

क्रिकेट जगतमा क्रोन्जेको ठूलो सम्मान थियो, कसैले पनि यो सोचेको थिएनन कि यी अफ्रिकी खेलाडी यस्तो पनि गर्न सक्छन भनेर । दक्षिण अफ्रीका क्रिकेट बोर्ड (युसीबीएसए)का एमडी अली बेचारलाई पनि क्रोन्जेको इमानदारीमा पूर्ण विश्वास थियो । तर आरोपको चार दिन पछि, क्रोन्जेले बिहान तीन बजे बेचारलाई फोन गरेर स्वीकारे, “म पूर्ण रूपमा इमान्दार छैन।” अन्ततः क्रोन्जेको कप्तान पद खोसियो । त्यपछि, सरकारले नियुक्त गरेको आयोगले क्रोन्जेलाई वास्तविक दागी साबित गर्यो । क्रिकेटबाट टाढा भएपछि क्रोन्जेले जोहानेसबर्गमा एक कम्पनीको वित्तीय प्रबन्धकको रूपमा नयाँ काम शुरू गरे। तर यस बीच उनले एक विमान दुर्घटनामा आफ्नो ज्यान गुमाए । ज्यान गुमाउदा उनको उमेर ३२ बर्ष २४९ दिन थियो । उनको अन्तिम संस्कारमा २ हजार भन्दा बढी मानिसहरुले सहभागिता जनाएका थिए । क्रोन्जेले दक्षिण अफ्रीकाका लागि ६८ टेस्ट र १८८ एकदिवसीय क्रिकेट खेलेका थिए । उनले ५३ टेस्ट म्याचमा कप्तानको भुमिका निर्वाह गरेका थिए, जुन ग्रीम स्मिथ (१०८) पछिको सर्वाधिक हो ।