योग्यता – लीलाराज दाहाल

everest kitchen

लघूकथा – योग्यता

लीलाराज दाहाल

एउटा नव स्थापित कार्यालयको लागि केही कर्मचारी अपुग भएकाले भर्ना गर्ने निर्णय गरी योग्य व्यक्तिहरुबाट दरखास्त आह्वान गरियो । केही प्रशासनिक पदका लागि सूचना निकालियो भने केही कम्प्युटर अपरेटर पदका लागि निवेदन मागिएको थियो ।

लक्ष्मणले पनि बेरोजगारीको दलदलबाट बाहिर निस्कन कम्प्युटर अपरेटर पदमा आवेदन गरे । उनी कम्प्युटर बिज्ञानमा स्नातक थिए । कम्प्युटर जानेका अरु केही युवा युवतीहरुले पनि सोही पदमा आवेदन गरेका थिए । परीक्षाको किसिम प्रयोगात्मक र अन्तर्वार्ता भनिएको थियो । परीक्षामा त जीवनमा कहिल्यै कम्प्युटर नछोएका उम्मेदवार पनि सामेल भएका थिए । परीक्षाको नतिजा पनि सार्वजनिक भयो ।

लक्ष्मण लगायत कम्प्युटरका जानकारहरुको नाम निस्किएको थिएन । कहिल्यै कम्प्युटर नछोएका, नजानेकाहरु पो कम्प्युटर अपरेटरको पदमा उत्तीर्ण भएका थिए ।

उनीहरुले हाकिमको कोठामा पुगेर असन्तुष्टी जनाए , “ हामी कसरी अयोग्य भयौं हाकिम साहेव ? हाम्रा प्रमाण–पत्रहरुको ठूलो उपहास भयो तपाईंबाट । ”

अव उनमा लक्ष्मण र यस्ता कयौं योग्य लक्ष्मणहरुको चित्त बुझाउन सक्ने तागत बाँकी थिएन । लाचारीको चश्मा लगाएर कार्यालय प्रमुखले भने ,“ तपाईंहरुको लागि माथिबाट फोन आएन । म के गरूँ ? ” (बागमती ११ , कर्मैया, सर्लाही)