इन्सद्धारा पत्रकार महासंघ काठमाडौं शाखालाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री सहयोग

everest kitchen

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । समाजले बुधबार महासंघको काठमाडौँ शाखा कार्यालय भृकुटीमण्डपमा ४० हजार रुपैयाँ बराबरको खाद्यन्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

समाजको नेपाल राष्ट्रिय कार्यसमितिका अध्यक्ष चन्द्र कुमार फुयालको नेतृत्वले महासंघका पदाधिकारीलाई सहयोग प्रदान गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेका पत्रकारहरुलाई केही राहत प्रदान गर्ने उद्देश्यले उल्लेखित रकम बराबरको खाद्यन्नलगायत स्वास्थ्य सामाग्री सहयोग गरिएको समाजका अध्यक्ष फुयालले बताए ।

उक्त सामाग्रीहरु ग्रहण गर्दै महासंघ काठमाडौँ शाखाका सचिव महेश्वर गौतमले अग्रपंक्तिमा रहेर अनवरत रुपमा नागरिकलाई सुसूचित गराइरहेका पत्रकारहरु पनि संक्रमित भएको यो अवस्थामा समाजको सहयोग आफूहरुका लागि ठूलो भएको बताए । महासंघले विदेशमा रहने नेपालीहरुले समाज मार्फत गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

स्वास्थ्य मापदण्ड अनुसार आयोजना गरिएको राहत वितरण कार्यक्रममा समाजका नेपाल कार्यसमितिका अध्यक्ष फुयाल, उपाध्यक्ष दामोदर नेपाल, महासचिव एसपी उप्रेती, सहमहासचिव उद्धव भट्टराई, सदस्यहरु बालमुकुन्द मैनाली तथा दिपक खत्रीको उपस्थिति रहेको थियो भने पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष रामचन्द्र दुलाल, सचिव गौतम, सहसचिव अर्जुन डोटेललगायतको सहभागिता रहेको थियो ।

विभिन्न किसिमका कार्यक्रम तथा मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय नेपाली समाजले देशभर नै अति आवश्यक भएका नागरिकहरुलाई आधारभूत सहयोग गर्ने शिलशिलामा काठमाडौँमा राहत वितरण गरकोे हो ।

त्यसैगरी, समाजले आजै काठमाडौँ महानगरपालिका वडा नं. ३१ लगायत आसपासका बस्तीका कोरोना महामारीले समस्यामा परेका परिवार, अपांगता भएका परिवार, समस्यामा परेका विद्यार्थीलगायत ४० घरपरिवारलाई समेत ६० हजार रुपैयाँ बराबरको खाद्यन्न राहत प्रदान गरेको छ ।

प्रारम्भिकरुपमा वितरण गरिएको राहत सामाग्री स्थानीय अगुवाको रोहवरमा वितरण गरिएको थियो । समाजले बाग्मति प्रदेशलगायत अन्य प्रदेशमासमेत राहत वितरण गर्ने जनाएको छ ।