ह्वाट्सएप मार्फत विभिन्न व्यक्तिका खाता आफ्नो नियन्त्रणमा लिएर छली काम जारी

everest kitchen

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्तालाई निशाना बनाउँदै छलकर्ता (स्क्यामर)हरूले विभिन्न व्यक्तिका खाता आफ्नो नियन्त्रणमा लिने कार्य जारी राखेका छन्। ह्वाट्सएप प्रयोगकर्ताको साथीको आवरणमा सुरक्षा कोड प्राप्त गरेर त्यस्तो छल हुने गरेको छ। यस्तो छल कार्य धेरै वर्षदेखि जारी छ र अझ पनि मानिसहरू तिनका फन्दामा परेका आफ्ना समाचार सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्। ह्वाट्सएपले उसका प्रयोगकर्तालाई आफ्नो सुरक्षा कोड आफ्ना साथीका रूपमा आए पनि कसैलाई पनि नदिन भनेको छ। एकजना त्यस्तै पीडितले आफू त्यस्तो छलिको घटनामा परेको कुरा भन्न पनि सङ्कोच लागेको बताए।

केमा ध्यान पुर्‍याउने?

तपाईँले अपेक्षा नगरिकनै ६ वटा अङ्क हुने ह्वाट्सएप कोड सहितको एसएमएस टेक्स्ट मेसेज तपाईँले प्राप्त गर्नुभएको छ भने तपाईँ त्यस्तै धोखाधडी गर्न खोज्नेको निशानामा पर्नुभएको हुन सक्छ। यो कोड धेरैजसो नयाँ खाता खोल्न वा आफ्नो खाता नयाँ उपकरणबाट खोल्न पर्‍यो भने आवश्यक पर्छ। यदि तपाईँले त्यो कोड माग्नुभएको छैन भने त्यो जाली मान्छेहरूले तपाईँको खातामा लगइन गर्न खोजेको हुन सक्छ। अर्को चरणमा त्यस्तो गर्न खोजिरहेकाहरूले तपाईँले ६ अङ्कको कोड माग्न सक्छन्।

त्यो तपाईँको आफ्नै साथीकोबाट आएको जस्तो लाग्न सक्छ किनभने तपाईँको खाता त्यसबेला ह्याक भइसकेको हुन्छ।एकजना पीडित चार्लीले बीबीसीलाई बताए, “मैले मेरो नजिकको साथी मिसेलबाट ह्वाट्सएप मेसेज पाएँ त्यसमा उनी आफ्नो खाता खोल्नबाट बञ्चित भएकाले सहयोग गर्न आग्रह गरिएको सन्देश थियो।” “उनले उक्त कोड असावधानिवश आफ्नोमा नभै मेरोमा पठाएको र त्यसैले त्यो नम्बरको स्क्रीनशट पठाउन आग्रह गरिएको सन्देश आएको थियो।” वास्तविकतामा चार्लीले उक्त खाताको उक्त कोड स्क्यामरलाई पठाएका थिए। “कहिलेकाहीँ प्रविधिले दिक्क बनाउने गरी दु:ख दिन्छ, त्यस्तै सम्झेर मैले उनलाई सहयोग गर्न खोजेँ,” उनले बीबीसीलाई भने। “के भयो भन्ने कुरा थाहा पाउन मलाई निकै दिन लाग्यो।” चार्लीले ह्वाट्सएप खाता डीलीट गरिदिएका छन् र अब कहिल्यै ह्वाट्एप प्रयोग नगर्ने बताउँछन्।

स्क्यामरले तपाईँको खाताबाट के गर्छन्?

चोरी गरेको खाताबाट छलकर्ताले तपाईँका परिवार र साथीहरूलाई तपाईँको नाममा मेसेज पठाउन सक्छन्। उनीहरूले तपाईँ सङ्कटमा परेको भन्दै पैसा माग्न सक्छन्। छलकर्ताले तपाईँका सम्पर्क नम्बरहरू हात पार्नेछन् र तपाईँलाई जस्तै झुक्याएर अरूको पनि ६ अङ्कको कोड हात पारेर ह्वाट्एप अकाउन्ट ह्याक गर्नेछन्।  तपाईँको खाताबाट तपाईँको सामूहिक कुराकानीमा सहभागी हुनेछन् र संवेदनशील सूचना हात पार्न सक्छन्।

तपाईँ कसरी बच्न सक्नुहुन्छ?

ह्वाट्सएपले एक विज्ञप्तिमा भनेको छ: “हाम्रा प्रयोगकर्ताको सुरक्षा हाम्रा लागि असाध्यै महत्त्वपूर्ण छ। यद्यपि अरू नियमित एसएमएस वा फोन कलजस्तै अरूले तपाईँको ह्वाट्सएप नम्बर प्राप्त गर्न सक्छन्। “

त्यसैले प्रयोगकर्ताले यसो गर्नुहोला:

  • कहिल्यै पनि आफ्नो पासवर्ड वा सेक्युरिटी कोड कसैलाई नदिनुहोला- आफ्ना साथीभाइ र परिवारका सदस्यलाई पनि
  • थप सुरक्षाका लागि दुई चरणको टु स्टेप भेरिफिकेशन सक्रिय बनाउनुहोला
  • तपाईँसँग कसैले पैसा माग्छ भने सतर्क हुनुहोस्। शङ्का लागेमा आफ्नो साथी वा परिवारका सदस्यलाई फोन गरेर सोधपुछ गर्नुहोस्

ह्वाट्सएपले आफ्नो वेबसाइटमा मानिसहरूले आफ्नो खाता सुरक्षित राख्न के गर्न सक्छन् भन्नेबारे निर्देशिका बनाएर राखेको छ।

(साभार : बीबीसी नेपाली)