धनुषा । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतबार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन ।
प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गरेका छन । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री राउतलाई भौतिक पूर्वाधार मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना, ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानून, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, नवलकिशोर साहलाई सामाजिक र रामनरेश यादवलाई उद्योग मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।