राक्सिराङमा कोभिड-१९ विषेश अस्पताल सञ्चालनमा

everest kitchen

हेटौंडा । मकवानपुरको रक्सिराङ गाउँपालिका वडा नं ५ ठाडेचुरीमा निर्माण गरिएको कोभिड अस्पताल उदघाटन गरिएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको ५० लाख बजेटमा निर्माण गरिएको २० शैय्या आइसोलेसनसहितको कोभिड अस्पताल उदघाटन गरिएको हो ।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले रिबन काटेर सो अस्पताल भवनबाट सेवा प्रारम्भ भएको घोषणा गरे । उनले अस्पतालको बोर्ड अनावरण गर्नुका साथै अस्पताल परिसरमा वृक्षारोपण समेत गरे । राक्सिराङजस्तो ग्रामीण भुगोलमा स्वास्थ्य सेवाको सहज पहुँच विस्तार होस भन्ने उद्देश्यले अस्पताल बनाइएको उनले बताए ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अस्पताल नदेखेरै मर्नुपर्ने विकटका जनताले आधुनिक स्वास्थ्य सेवा गाउँमा नै पाउने अवस्था आएको बताए । उनले सिटामोल खान नपाएका जनताले अहिले चिकित्सकसहितको आधुनिक स्वास्थ्य सेवा गाउपालिकामै पाइरहेको जानकारी दिए ।

बिकास बजेट कटाएरै कोभिड नियन्त्रणमा लागिपरेको बताउदैं उनले पर्याप्त अक्सिजन र बेडसहितको आइसोलेसन सन्चालन गरिएको बताए । हाललाई कोभिड अस्पतालको रुपमा सन्चालन गरिने सो भवन पछि राक्सिराङ अस्पतालकै रुपमा तयार गरिने उनले बताए ।

अस्पतालमा अक्सिजन सहितको २० वटा बेड तयारी अवस्थामा छ । अत्यावश्यक स्वास्थ्य सामाग्री सहित अक्सिजन कन्सन्ट्रेटरको व्यवस्थापन गर्ने तयारी पनि भइरहेको छ । सो अस्पताल भवन निर्माणका लागि स्थानीय हरि प्रजाले एक बिघाह जग्गा दान गरेका हुन । उक्त जग्गामा कोभिड अस्पतालसँगै १० शैयाको राक्सिराङ अस्पताल निर्माणधिन छ ।

गाउँपालिकाले कोरोना नियन्त्रणका लागि विभिन्न योजना बनाएर काम गरिरहेको छ । हाल चैनपुरस्थित प्रजा जागृति माविमा अस्थायी कोभिड अस्पताल सन्चालन गरिरहेको छ ।

अस्पतालको भवन निर्माण सम्पन्न भएसँगै अब कोरोना संक्रमित बिरामीहरुलाइ स्थानान्तरण गरिने र सुविधासम्पन्न आइसोलेसनमा राखेर उपचार गरिने गाउपालिकका स्वास्थ्य संयोजक विजय कापरीले बताए । उनका अनुसार हाल सो आइसोलेसनमा ६ जना संक्रमित उपचाररत छन् ।