गाविस अध्यक्षदेखि मन्त्रीसम्म बन्न सफल गणेशकुमार पहाडी

everest kitchen

सिन्धुली । साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन । नवनियुक्त मन्त्री पहाडी विसं. २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसअघि उनी विसं. २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित भएका थिए ।

पार्टीमा उनी विसं. २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । विसं. २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति शुरु गर्नुभएका उनी विसं. २०४८ मा नेकपा (एमाले) को सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत भए । विसं. २०६५ मा जिल्ला कमिटी सचिव र विसं. २०६६ मा जिल्ला संयोजक भएका थिए । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिका सदस्य भएका थिए । यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा गणेशसिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाएका थिए ।