लघुकथा: प्रतिष्ठा
दीप्स शाह
हिजो गल्ली मा एउटा साइनबोर्ड देखेँ “बैंसको ब्यापार” र सँगै निर्धक्क उभिएकी ब्यापारी ‘पातली’ । आज त्यही साइनबोर्ड सङ्गैको ढोकाबाट लुसुक्क निस्कँदैगरेको भलादमी देखेँ, “टलक्क टल्किएको कोट” मा लब्ध प्रतिष्ठित ‘मेरा ठुला बा’ ।
किन किन मलाई ‘पातली’ को साहस ‘साइनबोर्ड’ प्रती सम्मान जाग्यो मेरा ठुलाबा को ‘कोट’ ओढेको लब्ध प्रतिष्ठा भन्दा।
———यो पनि—
लघुकथा – खुसी
गणेश वर्तमान
जब बिमल आठ कक्षामा अध्ययन गर्दै थियो, त्यतिबेला उसलाई लाग्थ्यो कि ऊ जतिको दुखी मान्छे संसारमा अरु कोही नहोला । बिहानै उठ,दिनभर पढ,राति अबेर सुत , छ्या ! विद्यार्थी जीवन ।
पढाइ सकेर जागिर गरेको मान्छेको जिन्दगी खुबै सुखी देख्थ्यो , उसले । जीवनमा खुसी हुन त जागिरे भएर पैसा कमाउनु पर्ने रहेछ जस्तो लाग्यो । समय बित्दै गयो । एकदिन ऊ पनि जागिरे भयो । पैसा पनि मनग्ये कमाउन थाल्यो तर पनि ऊ खुसी हुन सकेन । उसलाई अचम्म लाग्यो। उसले सोच्यो कि जागिर खाएर अरु चाहिँ खुसी हुने ,म चाहिँ किन नहुने ?
एकदिन उसले सुखी देखिने अाफ्नो एकजना साथीलाई भेट्यो। भन्यो , “ अरे यार , तैले त जिन्दगीलाई हराभरा बनाएको देखेँ। तँ जत्तिकै मैले पनि पढेँ , कमाएँ तर म तँजस्तो सुखी हुन सकिँन । यसको रहस्य के होला ?”
मुस्कुराउदै उसले भन्यो , “ खुसी हुनलाई धन होइन मन चाहिन्छ यार ! तँसंग मेरो जस्तो मन कहाँ छ र ? ´´