लुम्बिनी प्रदेशको निति तथा कार्यक्रम पारित

everest kitchen

बुटवल । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ । विपक्षी दलहरुले लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै आएका भए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि त्यो विवाद अन्त्य भएको छ ।

प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशमा प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको बाबजुद पनि जसपा सांसदहरुले सरकारलाई समर्थन गरेका छन ।

यसअघि नै लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्। उनीहरू महन्थ–राजेन्द्र पक्षधर हुन्।