निर्वाचन आयोगविरूद्ध राजनीतिक र कानुनी लडाईं जारी राख्छौँ : जसपा

everest kitchen

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले निर्वाचन आयोगविरूद्ध राजनीति र कानुनी लडाइँ जारी राख्ने निर्णय गरेको छ।

अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै आयोगको भूमिका निष्पक्ष र तटस्थ नभएको उल्लेख गरेका छन् । पार्टीको बहुमतले गरेको कारबाही अस्विकार गरेपछि जसपाले त्यसलाई पूर्वाग्रही निर्णय भनेको छ।

जसपाले जेठ १७ गते कार्यकारिणी समितिको बैठकको बहुमतबाट राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम महन्थ ठाकुर लगायतलाई निष्कासन गरेको थियो।

सोही बमोजिम उनीहरुलाई पदबाट हटाइ पार्टीको विवरण अध्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो । ठाकुर–राजेन्द्रमहतो पक्षले पनि यादवलाई कारवाही गरी पार्टीबाट निष्कासन गरेको पत्र आयोगलाई बुझाएको थियो । तर आयोगले दुवै पक्षको निर्णय विधिसम्म नरहेको भन्दै दुवैलाई मान्यता दिन अस्वीकार गरेको थियो।

निर्वाचन आयोग जस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गम्भीर शंका उत्पन्न भएको छ, विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले गरेको उपरोक्त काम कारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाईँ जारी रहनेसमेत जानकारी गराउँछौँ।’