आश्वासन – नारायण खनाल “भावुक”

everest kitchen

लघुकथा : आश्वासन

नारायण खनाल “भावुक
सुकुम्बासी बस्तीमा खाडीबाट आएको राहत लिन मान्छेहरू डम्माडम्मी थिए ।अभियन्ताहरूलाई वास्तविक र अवास्तविक गरिब खुट्याउन निकै गाह्रो थियो ।सबैको नालीबेली जानेको रामभरोस बहिर भएकाले सबै उस्को पर्खाइमा थिए ।विगत दुई महिनादेखि रोजगार गुमाएका गाॅउलेहरू दुरी मिलाएर लाइनमा राहत पर्खिएका थिए ।

अर्कोतिर त्यही नजिकै आफ्ना अगुवा कार्यकर्तालाई आफ्नो गुटमा भित्राउन मन्त्रीको विशेष सम्बोधन थियो ।त्यहाँ रामभरोसलाई अगुवा कार्यकर्ता बनाएर आगामी वडाध्यक्षको आश्वासन दिइने योजना थियो । यो अवस्थामा कुनलाई प्राथमिकतामा राख्ने ? बस्तीमा ‘ थाल खाऊॅ कि भात खाऊॅ’ को अवस्था थियो ।

विस्तारै मिडियामा पनि सरकार विरोधी स्वर सुनिन लागेको थियो । छोटो भेटमा उनको प्रतिक्रिया जान्न वरिष्ठ पत्रकारले दोबाटोमै रामभरोसलाई प्रश्न तेर्स्याए , “यो अवस्थामा तपाईं कुन कार्यक्रमलाई महत्व दिनुहुन्छ? ”

“हेर्नुस्,यो बेला यस्ता नेताको आश्वासनले पेट भर्दैन , राहतले भर्छ , ´´उनले सटिक उत्तर दिए।