मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका वडा नं ८ का २४ वर्षीय सोमे तामाङ र उक्त गाडीमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का १८ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । बिहीबार बिहान ३:०० बजेको समयमा मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको ना१ख ९९१० नंको कन्टेनर गाडीलाई रोकी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको उक्त परिणामको गाँजा बरामद भएपछि प्रहरीले गाडी चालक सनकबहादुर, सहचालक सोमे र सवार सविनलाई पक्राउ गरेको हो ।
मंगलबार पनि ९६ केजी गाँजासहित हेटौंडाको भुटनदेवीबाट पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।