“सुन्दर मान्छेहरु”

everest kitchen

कविता – सुन्दर मान्छेहरु

टिरिरिङ-टिरिरिङ
आवाजसँगै मज्बुरी होइन
मजदुर ब्युँझनुपर्छ।

कार्लमार्क्स बाजेले
चुरको ठुटो सल्काउदै
‘एकदिनमा चौबिस घण्टा हुन्छ’
भनेकै दिनदेखि बज्न थाल्यो होला
संसारभरी एकैचोटि
शताब्दी ब्युँझाउने घण्टी
ओहो!आठ घण्टा त
प्यारा मान्छेहरुका लागि पो रहेछ।

म हेरि पठाउछु
सडकदेखि पर-पर सडकसम्म
होटेल,हस्पिटलहुँदै
सिमेन्ट फ्याक्ट्रीको मुलगेटसम्म
पुल तरेर पारी-पारी पानी जहाजसम्म
माछा पोखरीहुँदै आकाशमा उडिरहेको चिलगाडीसम्म
ओहो!जताततै एउटै मान्छे
माओत्सेतुङ काका जस्तै
गैंती,बेल्चा,सनासो र हम्मर बोकेर
चलायमान देखिन्छन्
एउटै अनुहारका
कति सुन्दर मान्छेहरू।

तीस वर्ष अगाडी जाउ
फेरि फर्केर आउ
केएलसिसिको २१ तलाको भित्तामा सुँघ
अहमत आबाङको पसिना हाँस्दछ।

टिरिरिङ टिरिरिङ
आवाजसङ्गै
ब्युँझनुपर्छ
सुन्दर मान्छेहरु
र उठाउनुपर्छ
पुंजीवाद भन्दा अग्लो
हाम्रो आफ्नै ‘ब्रुज खालिफा’

टुकेन्द्र’पौरखी’ इलाम,हाल मलेसिया।