नेपालमा डेल्टा भेरियन्टको परिवर्तित रुप फेला

everest kitchen

काठमाडौं । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप के४१७एन मुटासन देखिएको बताए । यसलाई एवाई.१ नाम दिइएको छ ।

उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ । मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो ।

नेपालमा अहिलेसम्म अल्फा (बि.१.१.७) र डेल्टा (बि.१.६१७.२) तथा कप्पा (बि.१.६१७.१) भेरियन्ट पुष्टि भएको छ । डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए । उहाँले यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको बताए । “यो नयाँ देखिएको भेटियन्ट होइन”, उनले भने, “यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ ।”

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल समेत गरेको छ ।