समन्वय समिति प्रमुख द्धारा रुकुम त्रिवेणीका बिकास कार्यक्रमको अनुगमन तथा निर्देशन

everest kitchen

रुकुम । जिल्ला समन्वय समिति रुकुम पश्चिम र त्रिवेणी गाउँपालिकाद्धारा त्रिवेणी गाउँपालिका विभिन्न विकास कार्यक्रमको अनुगमन गरिएको छ । सोमबार त्रिवेणी गाउँपालिका विभिन्न पाँच विकास निर्माण कार्यहरूको अनुगमन तथा निर्देशन गरिएको हो ।

अनुगमन टोलीले निर्माणको क्रममा रहेका दहबाङ खेलकुद मैदान, धुम्भिर युद्ध संग्राहलय, श्री जनजागरण माध्यमिक विद्यालयको निर्माणाधीन भवन, अदुवा प्रसोधन केन्द्र र त्रिवेणी गाउँपालिका अस्पतालको निर्माणाधीन आईसोलेसन भवन लगायतको अनुगमन तथा निर्देशन गरेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिए ।

पुनका अनुसार अनुगमनका क्रममा जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले निर्माणाधीन अवस्थामा रहेको युवा जनजागरण माविको भवन निर्माणको क्रममा भएका केही त्रुटि सुधार गर्न, युद्ध संग्रहालय, आइसोलेसन भवनमा प्रयोग गरिएको गिट्टी बालुवाको गुणस्तर परिक्षण गरेर मात्रै निर्माण कार्य गर्न निर्देशन दिएका थिए ।

दहबाङ खेलकुद मैदानको थप विस्तारको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको १० दश लाख र त्रिवेणी गाउँपालिको ५ लाख गरि १५ लाख बजेट रहेको छ । धुम्भिर युद्ध संग्रहालयको लागि आवश्यक पुर्वाधार निर्माणको लागि पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशबाट ७५ लाख बजेट विनियोजन रहेको छ ।

त्यस्तै संघिय सरकारको ६० लाख अनुदानमा युवा जनजागरण मावि झुल्नेटाको ८ कोठे भवन निर्माणको अन्तिम चरणमा रहेको छ । यस्तै त्रिवेणी गाउँपालिका अस्पतालको आइसोलेसन भवन विस्तारको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट १५ लाख बजेट छुट्याएको छ ।

कर्णाली प्रदेश संसद विकास कोषको २० लाख सहयोगमा अदुवा प्रशोधन केन्द्रको भवन भने निर्माण सम्पन्न भैसकेको छ ।

प्रदेश सरकारबाट ढिलो गरी बजेट आउदा कार्यनयनमा समस्या रहेको अधिकृत पुनले बताए । उनका अनुसार गाउँपालिकाबाट छुट्याइएको विकास बजेट कार्यक्रमको भने ९० प्रतिशत बढी कार्यनयन भैसकेको छ ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख राज कुमार शर्मा, जिल्ला समन्वयअधिकारी प्रदर्शनी कुमारी, समन्वय समिति कार्यालयका ईन्जिनियर घनश्याम शर्मा सहभागी थिए । त्यस्तै त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष निर्मला विष्ट खडका, निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन मगर, गाउँपालिका कार्यालय प्राबिधिक चन्द्र बहादुर रावल, त्रिवेणी -६ का वडाअध्यक्ष राजेन्द्र पुन, पत्रकार विपेन उलङगे लगायतको सहभागीता रहेको थियो ।