त्रिवेणी गाउँपालिकाद्धारा २५३ जनालाई अपाङ्गता परिचयपत्र

everest kitchen

रुकुम (पश्चिम) । जिल्लाको त्रिवेणी गाउँपालिकामा अपाङ्गता भएका २५३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकाले क, ख, ग र घ वर्गमा शारीरिक तथा मानसिक अपाङ्गताका आधारमा वर्गीकरण गरेर परिचयपत्र वितरण गर्दै आएको छ ।

हाल त्रिवेणीमा “क” वर्गका ३८ जना, “ख” वर्गका १३६ जना, “ग” वर्गका ३४ जना र “घ” वर्गका ४५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखा र सामाजिक सुरक्षा शाखाले जनाएको छ । महिला तथा बालबालिका शाखा प्रमुख सिर्जना ओलीका अनुसार “क” र “ख” वर्गकाले मात्रै हाल मासिक भत्ता पाउदै आएका छन् ।

त्रिवेणीमा माओवादी सशस्त्र जनयुद्धका क्रममा धेरै जना घाइते अपाङ्ग भएकोले पनि यो सङ्ख्या बढ्न सक्ने गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्काले जानकारी दिईन । उनका अनुसार गाउँपालिकाले हरेक महिनाको १० र २० गते परिचयपत्र वितरण गर्दै आएको छ । कतिपय अपाङ्गता परिचयपत्र कहाँ र कसरी बनाउने भन्नेसमेत थाहा नभई परिचयपत्र पाउनबाट बञ्चित भएका र सरकारको बेलाबेलामा परिवर्तन हुने निति अनुसार परिचयपत्र पुनः अभिलेखिकरण गर्न थाहा नपाएर छुटेकाले पनि अहिले परिचयपत्र पाएको उनले बताईन ।

“क” र “ख” वर्गका अपाङ्गता भएका व्यक्तिहरु सामान्य काम पनि गर्न नसक्ने भएकोले उनीहरूले मासिक भत्ता पाउदै आएको र अन्य वर्गले विभिन्न सेवा सुविधामा सहुलियत प्राप्त गर्नुका साथै विभिन्न कार्यक्रममा समावेश गरिने उपाध्यक्ष विष्टले बताईन ।

असार १० गते बिहीबार मात्रै यस गाउँपालिकाबाट चार जनाले “ख” वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका थिए । पहिला जिल्लाबाट परिचयपत्र वितरण गर्दा त्यहाँ गएर परिचयपत्र लिन नसकिने अवस्था थियो, अहिले गाउँपालिकाबाटै परिचयपत्र वितरण गरिने भएपछि सहज भएको परिचयपत्र लिन आएका एक अपांगता भएका व्यक्तिले हिमाल टाईम्सलाई बताए ।