गण्डकीमा चारमन्त्रीलाई जिम्मेवारी दिने

everest kitchen

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । मुख्यमन्त्री सहित ५ जना मन्त्रीलाई विभिन्न मन्त्रालयका जिम्मेवारी पाएपछि मन्त्रिपरिषदले पूर्णता पाउने भएको हो ।

तत्कालका लागि प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालय जिम्मेवारी सम्हाल्ने भएका छन् । काँग्रेसबाट मन्त्री बनेका खड्काले सरकारमा अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एकमा दावी गरेका थिए ।

यसैगरी माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका जिम्मेवारी पाउने भएका छन् । यसअघि उनले अर्थ मन्त्रालय पाउनुपर्ने दावी गरेका थिए । आचार्यले उक्त मन्त्रालयको दाबी छाडेका छन् ।

अर्का बिना विभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । नयाँ गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेलेका मनाङेले यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गरेका थिए ।

मन्त्रालयको भागबण्डाका क्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादीबीच विवाद बढेपछि गत जेठ २९ गते नियुक्त भएका ४ जना मन्त्रीले हालसम्म पनि जिम्मेवारी पाएका थिएनन् ।