सिस्ने पदमार्गको पहिचान सम्पन्न

everest kitchen

रुकुमकोट । रुकुम पूर्वमा सिस्ने पदमार्गको (ट्राभल ट्रेक) पहिचान गरिएको छ । करिव ३७ दिन लगाएर पदमार्गको पहिचान सकिएको बाँफीकोट गाउँपालिकाका हिमाल आरोही मानबहादुर खत्रीले जानकारी दिए ।

उनको नेतृत्वको टोलीले ‘सिस्ने ट्राभल ट्रेक’ पहिचान गरेका थियो । ‘सिस्ने राउण्ड’को पहिचान पनि सोही टोलीले गरेको थियो । सो टोलीले ट्राभल ट्रेकको लागि तीन खण्डमा काम गरेको थियो । जिल्ला सदरमुकाम रुकुमकोटलाई जिरो प्वाइन्ट बनाएर शुरुआत हुने ट्राभल ट्रेक सिस्ने २ को नायगाड हुदै लैपा पुगिने जनाइएको छ ।

त्यहाँबाट भने तीन खण्डको अध्यन पछि मात्र ट्राभल ट्रेक अन्वेषणको काम सफल भएको हिमाल आरोही खत्रीले बताए । उनका अनुसार सबैभन्दा पहिला सिस्ने–पर्मुली –चौके –रातापर–त्रपन्ना–नयाँपन्ना–नौ दह– डारी हुदै सिस्नेसम्मको मार्गमा अन्वेषण गरिएको थियो । यहाँबाट पदमार्गको सम्भावना नदेखिएपछि फेरी अर्को खण्ड सिस्ने १ को पाखापानी–दह–निगालटाटा–भरभरे–हिउँखोला -किला–सिस्ने बेस क्ययाम्प–पञ्च बस्ने ओढार–सानाभेरी ओढार भएर जङ्गल हुँदै पुनः सिस्नेसम्मको अध्यन गरिएको उनले जानकारी दिए ।

यस ठाउँबाट पनि ट्रेकको सम्भावना नदेखिएपछि तेस्रो खण्डबाट पनि अन्वेषणको काम थालिएको थियो । तेस्रो खण्डमा सिस्ने गाउँ हुदै सिस्ने बेस क्याम्प–नावर छेर्ना–चौर–ठुलाढुङ्गा–नावर डोरी–सोतो –चिरो –फेदी–भेरी छेर्ना–ढाङ्कार–भेरा छेर्ना–ठुलाभेरा–तल्लोबाटो हँदै डारी–बेनुके र सिस्नेसम्मको अध्यन गरिएको थियो । तीन खण्डमा गरिएको अध्यनबाट सिस्ने ट्राभल ट्रेक अन्वेषणको काम सम्पन्न भएको जनाइएको छ ।

उनका अनुसार अब जिरो प्वाइन्ट रुकुमकोटबाट लैपा–गुप्तादह–निगालटाटा–भरभरे–हिउँखोला–किला–सिस्ने बेस क्याम्प–नावर छेर्ना–चौर–ठुलो ढुङ्गा–नावरजोडी हुदैँ सोतो पुगिने छ । यसैगरी सोतोबाट फेदी हुँदै भेरीछेर्ना–ढाङकार–ठुलाभेरा–नौ दह–नयाँपन्ना–तरपन्ना–रातापर–घ्यू पोख्या फेदी–चौखे हुदै पर्मूली–इरीबाङ–बेनुके –सिस्ने –नायगाड भएर रुकुमकोट पुगिने छ । यो पदमार्ग ११ दिनको हुने छ ।

यी मार्गमा यात्रा गर्ने क्रममा यहाँका सुन्दर हिमाल, हिमताल प्राकृतिक दृश्यहरु देख्न सकिने छ । यहाँ पाँच हजार ८४० मिटरदेखि सात हजार २४६ मिटर उचाँइ पाँच हिमाल रहेका छन् भने अन्य साना अन्य हिमाल र हिमताल छन् । जिल्लाकै सबैभन्दा अग्लो हिमाल पुथाको सात हजार २४६मी उचाइ रहेको छ । यस्तै दोगारी हिमालको उचाइ छ हजार ५३६ मी छ भने सामजाङ्ग हिमालको उचाइ पाँच हजार ९२४ मी छ । यस्तै सिस्ने हिमालको उचाइ पाँच हजार ९११ मी उचाइ रहेको छ भने निम्कु हिमालको उचाइ पाँच हजार ८४० मीटर रहेको छ ।

अब केहि सहायक मार्गको काम बाकी रहेको उनको भनाई छ । विभिन्न ठाउँमा साङ्केतीक चिह्न राख्ने, नक्साङ्क र डिपिआरको कामहरु बाकी रहेको खत्रीले बताए । सिस्ने राउण्ड र ट्राभर्स ट्रेकको अन्वेषणको काम सकिएको बताउदै यस क्षेत्रको विकास यहाँका सथानीय सरकार, प्रदेश सरकार र संघ सरकरको लगानीमा भर पर्ने उनको भनाई छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा सिस्ने ट्राभर्स ट्रेकको अन्वेषण गर्ने काम सम्पन्न भएको हो ।रासस