कर्णाली करिडोरमा पहिरो जाँदा सडक अवरुद्ध

everest kitchen
File photo

सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो ।

सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो”, उनले भने, “वर्षात्का कारणले धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ ।”

लगातारको वर्षाका कारणले कर्णाली करिडोर एक साताभन्दा बढीदेखि नै अवरुद्ध रहेको छ । कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षात्का कारणले पहिरो जादाँ अवरुद्ध भएको हो ।

कर्णाली करिडोरअन्र्तगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट, सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल, कोट, आमतडा, पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडक खण्डमा पहिरो गएको छ ।

पहिराले करिडोर क्षेत्रका विभिन्न ठाउँमा राखिएका बिलिब्रिज भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अबरुद्ध भएको र पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । “पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको छ”, उनले भने, “पहिरो पन्छाउनका लागि पहल थालिएको छ, चाडै सञ्चालन गर्ने तयारी गरेका छौं ।”