उपत्यकामा असार २१ गतेसम्म निषेधाज्ञा थपियो, २५ सिटमाथिका सार्वजनिक यातायात चल्ने

everest kitchen

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गर्दै जोर–बिजोरका आधारमा सार्वजनिक बस चल्न दिने भएको छ । काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी स्वास्थ्य मापदण्डसहित २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको हो ।

उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न सकिने जनाइएको छ ।

यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भौडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल मोवाइल तथा कम्प्यूटर पसल र निर्माणजन्य सामग्रीको पसल, हार्डवेयर पसल, विजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर लगायतका पसल बिहान बिहान ११ बजे देखि साँझ ६ बजे सम्म संचालन गर्न पाइने उल्लेख छ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न रोक लगाइएको छ ।