लघुकथा- “चोरी”
माधव बिडारी
शान्ति टोल साच्चै शान्त छ । प्रत्येक चोकमा सिसि क्यामेरा,साइरन वेल ,चोकमा प्रहरी चौकी र मदिरा पसल रहित ठाउँ जस्ता सुरक्षाका ब्यबस्थाले गर्दा कुनै सामाजिक अपराधका घटना सुन्नु परेको थिएन ।
एकदिन टोलको मध्य भागमा र अधिक सुरक्षा ब्यबस्ता भएको ठाउँमा सुनपसल चोरी भयो । यस्तो असम्भव ठाउँमा पनि चोरी यति कलात्मक तरिकाले भएको थियो कि त्यहाँ भएका सुरक्षाका साधनहरुले चोरको कुनै संकेत दिन सकेका थिएनन्।यो कुरा संचारमा आयो,सबै जना हैरान भए आखिर कसरी यस्तो चमत्कारिक चोरी भयो।
प्रहरीले लाख कोसिस गर्यो तर सबै कोसिस बालुवामा पानी साबित भएका थिए । अन्त्यमा प्रहरीले तालिम प्राप्त कुकुरलाई लिएर आए । कुकुर दगुर्दै पसलको पैसा राख्ने काउन्टरमा गएर संकेत गर्यो।प्रहरीले काउन्टर खोलेर हेरे ,त्यहाँ केहि खुद्रा पैसा, केहि कागजात र एउटा परिचय पत्र रहेछन् । प्रहरीले परिचय पत्रको बारेमा पसल मालिकलाई सोधे तर मालिकले आफूलाई थाहा नभएको जानकारी दिए । त्यत्रो सुरक्षा ब्यबस्थालाई नाकाम गराउने चोरको परिचय पत्र त्यहा हुन सक्नु कल्पना भन्दा बाहिर थियो।त्यहाँको अवस्था हेर्दा परिचय पत्र कसैले सुटुक्क राखेको भन्ने पक्का थियो ।
घटना देशमा मात्र नभई बिदेशमा पनि प्रख्यात भयो ।
प्रहरीले परिचय पत्रको सम्बन्धित ब्यक्तिलाई खोजेर चौकीमा ल्याए । त्यहाँ त्यो ब्यक्तिले सजिलै आफूले चोरी गरेको कुरा कबुल गर्यो र आफ्नो परिचय पत्र पनि आफैले त्यहाँ राखेको कुरा बतायो।
“आखिर यति मेहनत गरेर चोरी गरेपछि आफ्नो परिचय पत्र चै किन राख्यौ,के तिम्रो मानसिक अवस्था ठीक छ?” प्रहरीको प्रश्न थियो । चोरले टाउको उठाएर मुस्कुराउदै जवाफ दियो,”नामका लागि हजुर”।