इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

everest kitchen

काठमाडौँ । इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयतामा एक नम्बरमा रहेको टिम बेल्जियमलाई शनिबार बिहान भएको खेलमा २-१ गोलले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो ।

जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । खेलको ३०औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।

पहिलो हाफमा इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् । अन्ततः खेल इटालीले जित्यो ।

जितसँगै इटालीले लगातार ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै , शुक्रबार राति भएको खेलमा स्पेनले स्विजरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको हो। खेलको पहिलो हाफको सुरुवातमै स्विजरल्यान्डको आत्मघाती गोलसँगै स्पेनले १–० को अग्रता लिएको थियो। खेलको ८ औं मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन पुगेको थियो।

१–० ले पछि परेको स्विजरल्यान्डका लागि सेर्डान साकिरीले गोल गर्दै टिमको आशा जिवित राखे। उनले खेलको ६८औँ मिनेटमा गोल गरेका थिए। स्पेनका खेलाडीलाई लडाएर खेलको ७७औँ मिनेटमा स्विजरल्यान्डका रेमो फ्रिलर रातो कार्ड पाएर बारिएपछि दबाबमा परेको थियो। तर निकै दबाब दिन सकेको स्पेनले कुनै गोल भने थप्न सकेन।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा दुबै टिमले गोल गर्न सकेनन्। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।