लघुकथा -फैसला
नारायण कोइराला
धनकुमार र मनकुमार बाल्यकालमा देखि सगै पढ्ने गाउँले साथी थिए। धनकुमार अल्छी र उदण्ड बालक थिए । विद्यालयमा साथीभाइ संग झगडा गर्नु उनको दैनिकी जस्तै थियो । कैयन पल्ट उनलाई विद्यालयबाट निष्कासित गर्ने कुरो पनि भएको थियो।
मनकुमार भने लगनशील, मेहनती विद्यार्थीमा गनिने गर्दथिएँ।उनको चर्चा विद्यालयमा खुब हुने गर्दथ्यो।धनकुमार उनको चर्चाले मनमनै रिसाए पनि मुखले बोल्न सक्दैन थिए। धनकुमारको हर उदण्ड बानीबेहोरा एकदिन सुध्रिन्छ भनेर मनकुमारलाई भरोसा थियो । गुरुआमा,गुरुहरू सग उसको उदण्डतालाई बचपनको गल्ती भनेर माफी गर्न अनुरोध पनि गरेका थिए । जब धनकुमार विद्यालयबाट निष्कासित हुने अवस्थामा थिए । त्यो समयमा पनि उनैको अनुरोध काम आएको थियो ।
दस कक्षा पढेपछि धनकुमार पढाई छोडेर धन कमाउने धन्दा तिर लागे।मनकुमार भने शहर पढ्न गए।धनकुमार र मनकुमारको बाटो अलग भइसकेको थियो। “समय बित्दैजाँदा मनकुमार प्रख्यात न्यायाधिस बनिसकेका थिए । धनकुमार राम्रो धनपति।” अदालतमा मानिसहरू भरिभराउ थिए।आजको मुद्धा अलि पेचिलो थियो। मनकुमार न्यायधीसको रूपमा अदालतमा आइसकेका थिए । धनकुमार अपराधीको रूपमा। दुबै तर्फका वकिलको चर्काचर्की बहस सकियो। मनकुमारलाई फैसला सुनाउँन बाँकी थियो।अदालतको कठघरामा उभिएका धनकुमार भने मुसुमुसु हाँस्दै आफ्नै पुरानो साथी मनकुमार अनुहार हेदै थिए।बाल्यकालको साथीले आफ्नो पक्षमा फैसला दिन्छन् भन्नेकुरा ढुक्क जस्तो देखिन्थे।
मनकुमार भने प्रमाणको आधारमा फैसला सुनाए । धनकुमारलाई जेल हाल्न आदेश भयो।बाहिर निस्कँदै गर्दा धनकुमारले मनकुमारलाई सोधें,”वाल्यकालमा मेरो गल्तीलाई माफ गर्न लगाउने मेरो साथी आज किन मलाई जेल पठाउँदै छौ।” ” त्यो फैसला साथीको लागि थियो।अहिलेको देश र कानुनको लागि।” उत्तर मनकुमारको थियो। (तानसेन, पाल्पा हाल,यूएई।)