विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

everest kitchen

एजेन्सी। फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो ।

त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।

सी–१३० हर्कुलस विमानमा ९२ जना सवार रहेका बताइएको छ । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्याह्न विमान दुर्घटनाग्रस्त भएको हो । स्थानीय सञ्चारमाध्यमहरुमा प्रशारित दृष्यहरु र प्रकाशित तस्बिरमा दुर्घटनाग्रस्त विमान भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा पनि ती दृष्यमा देखिएको छ ।

सोमबार एकजना सैनिक जर्नेलले दिएको समाचारमा त्यस दुर्घटनामा ९६ जना यात्रु रहेका र तीमध्ये ५० जनाको ज्यान गएको छ । अरु घाइते रहेका छन् । उनका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा ४७ जना सैनिक छन् । अरु तीन जना गैर सैनिक नागरिक रहेका छन् । सो विमान यहाँको सेनाको रहेको बताइएको छ ।

सो विमान कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको थियो उनले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताए ।