भक्तपुरमा म्याद गुज्रेका सयौँ औषधि नष्ट,अनुमति नलिई संस्था संचालन

everest kitchen
फोटो फाइल

भक्तपुर। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज जगाती, सूर्यविनायक र दूधपाटीको भेटनरी तथा चश्मा पसलको अनुगमन गरिएको छ । अनुगमनमा म्याद नाघेको औषधि, विषादी पसलमा जथाभावी औषधि तथा पशुलाई बेहोश बनाउने निन्जा र केमाइन अनुमतिविना राखिएको, फ्रिज सफा नगरी ढुसी पारेर इन्जेक्सन औषधि राखेको पाइएको छ ।

यहाँका मञ्जु भेट फर्मामा फ्रिजमा ढुसी परेको पाइएको छ भने म्याद नाघेको औषधि जफत गरी नष्ट गरिएको छ । त्यस्तै विष्णु भेटनरी फर्मामा ढुसी परेको फ्रिज राखिएको र औषधि विभागको अनुमति नलिई बिक्री गरिएको पाइएको छ । स्ट्रेराइल डाइलुएन्ट, मारेक र इन्जेक्सन बुरसल जफत गरी नष्ट गरिएको छ । डे«ग पोल्ट्री फार्मले विभागको अनुमति नलिई औषधि बिक्री गरेको पाइएको छ ।

राम पासा भेटनरी, पासा भेटनरी, उज्ज्वल भेटनरी सेन्टरलगायतमा औषधि विभागको अनुमतिविना नै सञ्चालन भएको र पसलमा औषधि दिने व्यक्ति फार्मासिष्ट वा औषधि विभागको अनुमतिपत्र पाएका व्यक्ति नभएको पाइएको छ । अनुगमनमा रहेका डा प्रणव जोशीले ढुसी आएको फ्रिजमा राखिएको इन्जेक्सन औषधिबाट पशुपक्षीमा सरेर तिनको मासु उपभोग गर्दा कालोढुसीको बिरामी देखापरेकोे बताए ।

अनुगमनको क्रममा अधिकांश चश्मा पसलले चश्माको सिसा, फ्रेमको खरीद र बिक्री मूल्यमा धेरै फरक गरी उपभोक्ता ठगेर धेरै नाफा लिएको, मूल्यमा एकरुपता नभएको, चश्मा पसलले जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति नलिई सञ्चालन गरिएको र औषधि विभागको अनुमति नलिएको पाइएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

लक्ष्मी अप्टिकल र भक्तपुर लक्ष्मी अप्टिकलले जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति नलिइएको, नगरपालिकामा दर्ताविना नै अवैध रुपमा सञ्चालन गरिएको, चश्माको मूल्यसूची नराखिएको, जथाभावी मूल्य लिइएको, खरीद बिल नदेखाइएको र नाफा धेरै लिई बिक्री गरी ग्राहकलाई ठगेकोे पाइएको उनले जानकारी दिए। भक्तपुर अप्टिकल, ओरिएन्टल अप्टिकल एण्ड फार्मेसी र मोडेल अप्टिकलले तालीम नलिएका जनशक्ति राखेको, जथाभावी मूल्य लिएर ठगी गरेको र पसल नवीकरण नगरेको पाइएको छ ।