लघुकथा – “सम्पत्ति”
चेतनाथ दाहाल
“अस्तिको पैसा दे भनेको सुनिनस्?खुब आफ्नै पेवाजस्तो ठान्छे।” पहिलोपटकमा चन्द्रमायाले अलिक आनाकानी गरेपछि दोश्रोपटक अलिक दबाब दियो दलबहादुरले।यसपटक उनले अलिक नरम स्वरमा छोटो जवाफ फर्काईन् “हरायो।”
बिहे भएको एकहप्ता मात्र भएको थियो उसले पनि यतिकै निहुंमा धेरै बिबाद गर्न चाहेन। दलबहादुर अरुकोमा ज्याला मजदुरि गर्थ्यो,चन्द्रमाया घरमा बाख्रापाठा कुखुरा परेवा पालेर भरथेग गर्थिन्,उत्तरार्धसम्मै जिवनको रथ सौहार्दपुर्ण तरीकाले नै अगाडी बढिरहेको थियो।
आज दलबहादुरको आँगनमा मान्छेहरुको खुब घुईंचो छ।उसलाई अन्तिम साथ दिने तयारीमा जुटेका छन सबैजना।
उमेरले डाँडो काटेकै थियो,अप्रत्याशित पनि हैन तर चन्द्रमायालाई सम्हाल्न गार्हो भईरहेको थियो।सायद उबेला बिहेको एकहप्ता अगाडी नै पत्र पुजेर स्विकृति दिएको, बिहेको दिन रातभर कयौं फन्का संगै घुमेको अनी आजका मितिसम्म एकापसमा सुख दु:ख बाँडेको फनफनी नाच्योहोला दिमागमा,जुन कुरा आजभोलिकाले बिरलै भोग्न पाउछन।
“ए चन्द्रमाया तिमिलाई दिलबहादुरले दिएका उपहारहरु जुन बिहेसंग जोडिएका छन्, जस्तै:सिन्दुर पोते चुरा आदि जे जति छन् ति सबै एकै ठाउं जम्मा पारेर ल्याउ,त्यो अब तिम्रो हैन,उसको सम्पत्ति लाससंग जलाईदिनुपर्छ। “भिडबाट कसैले उनलाइ आदेश दियो।
उनले उल्लेखित सबै चिजहरु एकैठाउं जम्मा पारीन् अनि आफ्नो थैलो खोलेर एउटा निकै पुरानो,खुम्चिएर पुरै कच्याककुचुक भएको पचास रुपयाँको नोट झिकिन् र अरु चिजसंगै राखेर जिम्मा लगाईन्।
यो पैसा चाहिंदैन तिमिनै राख भनेर फिर्ता दिदै गरेको ब्यक्तिलाई उनले भाबुक हुदै जबाफ दिइन् “त्यो पनि वहांकै सम्पत्ति हो,उबेला माहुर सेलाउंदा दिएको।”