‘साफ फुटबल नेपालमा आयोजना हुन्छ, तयारी थाल्नुस्: प्रधानमन्त्री ओली

everest kitchen

काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले १३औं दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन पनि दिए । आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएका सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गरे ।

‘हामी साफ आयोजना गर्न सक्छौं, मनोबल उच्च बनाउनुस्’, उनले भने । गत वर्ष चैतमा सम्पन्न ‘थ्री नेसन्स कप’ को फाइनल खेलको दशरथ रंगशालामा प्रत्यक्षरुपमा अवलोकन गरेको सम्झना गर्दै प्रधानमन्त्री ओलीले कद होचो भए पनि मनोबल उच्च भएकाले नेपाली टोलीले बंगलादेशसितको फाइनल खेल जित्नेमा आफू त्यतिबेलै आशावादी भएको बताए ।

नेपाली टोलीले अनुशासितरुपमा फाइनल खेल खेलेको जनाउँदै उनले खेलमा अनुशासन अत्यावश्यक भएको बताए । ‘टोलीको आत्मविश्वास बढाउन हरेक खेलाडीले आफ्नो आत्मविश्वास बढाउनु आवश्यक हुन्छ’, प्रधानमन्त्री ओलीले भने । देशको विकास हुनका लागि खेलकुदको मात्र नभइ चौतर्फी विकास आवश्यक भएको उनको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित खादा ओढाइ सम्मानपत्र प्रदान गरेका थिए ।

नेपाल, बंगलादेश र किर्गिस्तानबीचको ‘थ्री नेसन्स कप’ गत वर्ष चैत १० देखि १६ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । नेपालका लागि संजोक राई र विशाल राईले एक/एक गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा ठूलो प्रतियोगिताको पहिलो पटक उपाधि जितेको थियो ।

यसअघि साफ यस वर्ष बंगलादेशमा आयोजना हुने तय गरिएको थियो । प्रतियोगिता सेप्टेम्बर १४ देखि २५ तारिखसम्म गर्ने तय भए पनि बंगलादेशले अन्तिम समयमा कोरोना भाइरस महामारीलगायत कारण आयोजना गर्न नसक्ने जनाएको थियो । बंगलादेशले प्रतियोगिताको आयोजनाबाट हात झिकेपछि नेपाल र श्रीलंकाले साफ फुटबल आयोजना गर्न दाबी गरेका छन् ।