युरो कप २०२० को उपाधि इटालीलाई

everest kitchen

काठमाडौं । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप २०२० को उपाधि जितेको छ। सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो कप २०२० को उपाधि जितेको हो।

निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा इटालियन गोलकिपर डोन्नरुम्माले इंग्ल्यान्डका दुई प्रहारलाई विफल पारेका थिए। इंग्ल्यान्डको एउटा प्रहार भने पोस्टमा लागेको थियो। त्यस्तै, इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारेका थिए।

घरेलु टिम इंग्ल्यान्डको लागि दोस्रो मिनेटमै लुक शाले गोल गर्दै अग्रता दिलाएका थिए। उनले ट्रिपियरले उपलब्ध गराएको क्रसमा गोल गरेका थिए। यद्यपि ६७ मिनेटमा इटालीले बराबरी गोल फर्कायो। इटालीका लागि लियोनार्दो बोचुनीले रिबाउन्डमा गोल गर्दै खेललाई १-१ को अवस्थामा ल्याएका थिए।

इंग्ल्यान्डका लागि पाँचौ पेनाल्टी प्रहार गरेका बुकायो साकाको प्रहारलाई इटालीका गोलकिपर डोन्नरुम्माले छेक्दै आफ्नो टिमलाई विजयी बनाएका छन् । जितसंगै ५३ वर्षको अन्तरालपछि इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको हो। यसअघि उसले सन् १९६८ मा पहिलो उपाधि जितेको थियो ।