लघुकथा – एकल महिला
शारादा कार्की
एउटा ठूलो शहरमा बसोबास गर्थिन् उनी। उनी अर्थात दुर्गा। सानोतिनो जागिर थियो। त्यै जागीरका भरमा केटाकेटी हुर्काइरहेकी थिइन् । श्रीमानको देहान्त पश्चात् उनलाई समाजले हेर्ने दृष्टिकोण फरक हुँदै गैरहेको आभास पाउन थालेकि थिइन् ।
एकल भएका कारणले नै महिलाले नै उनलाई अलि हेपेर बोल्न थालेका थिए। उनी हिम्मतवाली थिईन्। सहनशिल पनि थिइन् । आफ्नो बाटो नबिराई हिँड्दथिन् ।
एक दिनको कुरा हो। उनी कहिँ जाँदै थिइन् , अकस्मात एउटा नारी आवाज उनको कानमा पर्यो । नमीठो लाग्यो । तैपनि उनले जवाफ नफर्काई आफ्नो गन्तव्य तिर लागिन्। निकट मानिएकै छिमेकीहरूबाट त्यस्तो प्रहार हुने शब्दहरू बोल्लान् भन्ने सोचेकी थिइनन्। दिनभर खल्लो लागिरह्यो। सारै रिस उठ्यो। एकमनले सोचिन् उसैमाथि जाइलागेर भौतिक कार्वाही पो गरौँ कि ! तैपनि आफू सम्हालिइन् ।
कोरोनाको कहर बढ्दो थियो। देशमा सरकारले लकडाउन जारी गर्यो। लकडाउन जारी गर्दागर्दै पनि मानिसहरू लापरवाही गर्न थाले। यसरी लापरवाही गर्नेमा उनका छिमेकीहरू पनि थिए। छिमेकी मध्येकि उनै महिलाकि श्रीमानको कोरोनाका कारण देहान्त हुन पुग्यो।
उनलाई दुख लाग्यो। सोचिन् ,- अब फेरि अर्कोले उनलाई छेड हान्दै भन्ने होला ” कुन काम लिएर हिँडेकी थिएँ, एकाबिहानै विधवा देखेर काम नै बनेन !”