लघुकथा: गाली
शीतल सुवेदी
कोजाग्रत पुर्णिमाको साँझ, चाँदीको थालजस्तो जून पूर्व आकासमा ढकमक्क लागेको थियो। राधिका अँध्यारो कोठरीभित्र कुनामा रहेका रहलपहल जमरा र जमराका जराले जेलिएको बालुवामाटो खुर्केर डालोमा हाल्दै आफ्नो लोग्नेसंगको रीस पोख्दै थिइन्। हे भगवान्! यो घरमा आएको पनि माइतिमा बसेकोभन्दा दोब्बर भैसक्यो। बिहे गर्दा १७ वर्षमात्र लागेकि थिएँ, आजसम्म सुखको एक सास फेर्न पाइनँ।
पहिले पहिले सासु-ससुराको बुहार्तन, त्यसपछि नन्द-आमाजूको निगरानी। फेरि छोराछोरीका लागि नखाइ-नलाइ धायो-पत्तायो । एकछिन चैनले सास फेर्न पाइएन। न खानेको ठेगान भयो न लाउनेको होस् नै। अब सासुससुरा पनि रहेनन्, नन्दआमाजू पनि आफ्नै थान्कामा बसिसके, भाञ्जाभाञ्जी, छोराछोरी सबै लाखापाखा लागे, भेट हुने भनेकै त्यहि दशैं तिहार त हो नि। एउटा ५ तोलाको रानिहार किन्देऊ न दशैंमा लाउँछु भनेको छोराछोरीलाई विदेश पठाउन लागेको ऋण अझै तिरीसक्या छैन रे।
“अब त बुढी पनि भैसकेँ। न गहना, न राम्रो लुगा। यस्तो जीवन बाँच्नुभन्दा हे भगवान छौ भने आजै मलाई लैजाऊ। यो जन्जालबाट, यो दुखबाट मुक्ति देऊ अनि ठीक भेट्छ यो बुढोले! “यति भन्दै डालोमा उठाएको जमराको माटो नजिकैको खोल्साजस्तो सानो खोलामा बिसर्जन गरेर आउँदै थिइन्, बाटोमा कालिकाले चिच्याउँदै भनिन् “ए राधिका आन्टी! छिटो आउनोस् त, अंकललाई त बसले हानेछ”।
राधिका दौडेर घरमा पुग्दा, घरछेउ सडकमा अनिकेत बेहोस् लडिरहेको रहेछ । एम्बुलेन्सलाई फोन गरिन्। सबै आफन्तलाई हारगुहार गरिन् । तर कसैले सास भेटेन, भेटियो त केवल अनिकेतको लाशमात्र!