सङ्घीय संसद् अधिवेशन आइतबारदेखि शुरु

everest kitchen

काठमाडौँ। सर्वाेच्च अदालतको आदेशानुसार सङ्घीय संसद््को अधिवेशन आइतबार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद्् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताए ।

मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ । यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ ।

कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला शुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ ।

नयाँ परिवेशमा नयाँ ढङ्गले जनताको आशालाई विश्वासमा परिणत गर्न सहकार्य र सहमतिका साथ संसद््लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील तथा परिपक्क तुल्याउन यसपटकको अधिवेशनले दललाई ठूलो अवसर प्रदान गरेको छ ।