पर्यटकीय लेक चढ्न पदमार्ग

everest kitchen

बाग्लुङ्ग। पर्यटकीय लेक घुम्टे चढ्ने पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले गत आवमा विनियोजन गरेको रु पाँच लाख ६७ हजार बजेटबाट ८०० मिटर पदमार्ग बनाइएको हो ।

गलकोट–१० पाण्डवखानीको सिद्धथानदेखि गोठथरीसम्म पदमार्ग जोडिएको निर्माण समितिका अध्यक्ष गङ्गबहादुर काउचाले जानकारी दिए । उनका अनुसार ४५५ मिटरमा ढुङ्गाको ‘सोलिङ’ र ३५० मिटरमा सिँढी निर्माण गरिएको छ । पदमार्गमा स्थानीयवासीले रु ५० हजार बराबरको श्रमदानसमेत गरेका थिए ।

गत असार १५ गतेदेखि असार ३० गतेसम्म दैनिक ५० जना श्रमिक पदमार्ग निर्माणमा खटिएका थिए । श्रमिकले एक दिनको रु ५१७ का दरले ज्याला पाएको समितिले जनाएको छ ।

वर्षायाममा जोखिम मोलेर पदमार्गको काम गरिएको अध्यक्ष काउचाले बताए । व्यवस्थित पदमार्ग बनेपछि घुम्टे आउजाउ गर्न सहज हुने भएको छ । “घुम्टे चढ्ने पर्यटकलाई लक्षित गरी पदमार्ग बनाइएको हो, यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ”, सिद्धथान सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर पुनले बताए ।