लघुकथा – आमाको कारण
म्यामराज राई
कोरोना कहर अझै बाँकी छ।सरकारले तोकेको मापदण्डमा रहेर फाट्टफुट्ट निजी विद्यालयहरू खुल्न थालेछन्।सात वर्षीय पुन्टे सदाझैँ आज पनि नियमित पोशाक,झोलामा किताब-कपी तथा मुखमा सेतो माक्स लगाएर विद्यालय हिडे ममीको देब्रे हातको पन्जा पक्रेर।विद्यालयको गेटसम्म पुर्याएर त्यतैबाट ममी काममा हिडिन्।गेट पाले अंकलले निधारमा ज्वरो नापी,हातमा सेनिटाइजर छर्काइदिँदै सबैलाई निश्चित दूरीमा भित्र प्रवेश गराउँदै थियो।त्यही पङ्क्तिबाट पुन्टे छिरे।
बिहानको प्रार्थना भन्दा अगाडि थोरै समय थियो र साथीहरूसँगै शौचालय गए।पिसाब फेरिसकेर शौचालय गन्हाएकोले मुखको मास्क थोरै तानेर थुक थुके।
-“ल,चुँडियो,मास्कको डोरी।”उनले सम्झे,अघि पाले अंकलले मास्कबिना कक्षा छिर्न पाइदैन भनेको कुरा।
पाँच सय मिटर जतिको दूरीमा भाडाको कोठामा बस्छन्।प्रार्थनाको समयमा अर्को मास्क साटेर ल्याउँछु भनी कसो कसो पाले अंकलको आँखा छलेर हिडे।
यता पुन्टेको खोजी शुरु भयो।कक्षाकोठामा झोला छ तर मान्छे छैन।प्रिन्सिपलको गाली कक्षा शिक्षक र पालेले बेस्सरी खाए। -“पुन्टेकी ममीको फोन पनि स्वीच अफ छ।कतै घर फर्कियो कि!”कक्षा शिक्षक एकछिन गनगनाए।
एक लट काम सकियो।दिउँसो तीन बज्यो।
-“मोबाइल चार्ज गर्ने,पुन्टेको लागि खाजा बनाउने र लिन विद्यालय जानुपर्ला।”फरियाको फेरोले पसिना पुछ्दै पुन्टेकी ममी घर फर्किन्।
बुबा विदेश,ममी कुल्ली काममा हिडेकाले कोठा बन्द छ।
कोठा बाहिर रुँदा-रुँदा आँखा सुन्निएको अवस्थामा भित्तामा अडेस लागेर निदाएछ। -“छोरो,कसले कुट्यो?किन आफैं विद्यालयबाट आएको?खै,झोला?”
-“मास्कको डोरी चुँडियो,ममी।”पुन्टेको हिक्क छुट्यो, ”तपाईले गर्दा आज पढ्न पाइनँ ।” -“ल,ल!भोलिदेखि थप दुइटा जति मास्क झोलाको गोजीमा हालिदिन्छु नि ल।” (हतुवागढी-६,होम्ताङ्,भोजपुर हाल:-जापान )