अतिक्रमित सडकपेटी खाली नगरे सम्पूर्ण बस्तु जफत गरिने

everest kitchen

दाङ । दाङको लमहीमा अतिक्रमित सडकपेटी खाली गर्ने सबै व्यापारीलाई दिइएको अल्टिमेटम आज सकिदँै छ । जिल्ला प्रशासन कार्यालय दाङले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमहीमा कानुन विपरित सडकपेटीमा पसल संचालन गर्ने सबै व्यापारीहरुलाई शुक्रवारसम्म सडकपेटी खाली गर्न निर्देशन गरेको हो, उक्त अल्टिमेटम आज सकिदैँ छ ।

गत मंगलवार जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्यवमा घरेलु तथा साना उद्योग कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय लमही, देउखुरी उद्योग बाणिज्य संघ लमही, र लमही नगरपालिकाले संयुक्तरुपमा गरेको निरिक्षण एवम् अनुगमनको गर्दै राजमार्ग क्षेत्रमा सडकपेटी अतिक्रमण गरि पसल संचालन गर्ने, मोटरसाइकल ग्यारेज संचालन गर्ने, विभिन्न किसिमका निर्माण तथा व्यवसायिक सामग्री थुपार्ने कार्य गरेका स्थानीय व्यापारीहरुलाई बुधवार देखि तिनदिन भित्र सडकपेटी खाली गर्ने निर्देशन दिइएको थियो ।

लमहीका स्थानीय व्यापारीहरुलाई दिएको अल्टिमेटम आज शुक्रवार सकिदैँ छ । अतिक्रमित सडकपेटीमा राखिएका विभिन्न बस्तुहरु नहटाइएमा भोली शनिवार देखि धमाधम सम्पूर्ण बस्तु कानुन बमोजिम जफत गरिने र कार्वाहीको प्रक्रिया अगाडि बढाइने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले बताए ।

सडकपेटी अतिक्रमणले बजार क्षेत्रका सडकमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठ्यारो हुने गरेको गुनासो आएपछि अतिक्रमित सडकपेटीलाई खाली गराउन सुरु गरिएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासले बताए ।