शिक्षकहरुको देशव्यापी रिले अनशन: दुर्गम भत्ता समेत नपाएको शिक्षकको गुनासो

everest kitchen

रुकुम । नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरु देशैभरी रिले अनशन बसेका छन् । शुक्रबार महासंघ आवद्ध शिक्षकहरुले देशभरका ७५३ वटै स्थानीयतहमा विभिन्न मागहरू राखेर रिले अनशन बसेका हुन ।

सरकार समक्ष शिक्षक महासंघले राखेको मागलाई बेवास्ता गरेको भन्दै महासंघको देशव्यापी सर्कुलर अनुसार रुकुम पश्चिमका विभिन्न स्थानीयतहमा बिहान ८ बजेदेखि शिक्षकहर एक दिने रिले अनशन बसिरहेका छन् । विभिन्न ३४ बुँदे माग राख्दै चौथो चरणको आन्दोलन अन्तरगत रुकुम पश्चिममा रिले अनशन गरेको अनशनरत जिल्लाको त्रिवेणी गाउँपालिकाका “नेपाल शिक्षक महासंघका”का अध्यक्ष डिल्ली बहादुर मल्लले जानकारी दिए ।

महासंघले शिक्षकलाई कोभिडविरुद्धको खोपको व्यवस्था हुनुपर्ने, प्रारम्भिक बालकक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, अस्थायी शिक्षकलाई स्थायी शिक्षकको प्रक्रियामा लिनुपर्ने लगायतका मागहरू राखेर अनशन गरेको अध्यक्ष मल्लले बताए ।

साथै, भौगोलिक विकटताको आधारमा रुकुम (पूर्व) “क” बर्ग रहेको र रुकुम (पश्चिम) “ख” बर्ग रहेकोले यी दुबै जिल्लाका शिक्षकहरुले अन्य कर्मचारी जस्तै दुर्गम भत्ता पाउनुपर्ने छुट्टै मागसमेत राखेको अध्यक्ष मल्लले बताए । उनका अनुसार रुकुम (पूर्व)ले दुर्गम भत्ता पाएपनि अस्थायी दरबन्दीका शिक्षकले भने नपाएको गुनासो गरे ।