लघुकथा: पीडा
बिपि राज दाहाल
एक गैरसरकारी सँस्थाकाे सकृयतामा महिला हिंसाकाे विरुद्धमा छलफल र सशक्तीकरणका लागि टाेलभरिका महिलाहरूकाे उपस्थितिमा कसरी पुरुषलाई ठेगान लगाउने भन्ने विषयमा धेरै तरिकाहरु बताइए।
खाना पर्खिन हुन्न, नानी जन्मन भन्दा पहिले आमाले ९ महिना सम्म एक्लै सम्हालेकामा जन्मपछि बाबुलाई बढी जिम्मेवार बनाउने, गाली गरेमा वा हात लाएमा तुरुन्त महिला स्वयंसेवक गुहारी ठेगान लगाउने, खाना आफूले पकाए भाँडा मझाउने, अझ हामी भन्दा पहिलाका पिंढीमा धेरै सताइएकाले बराबरी पार्न केही दशक सबै जसाे घरायसी काम पुरुषलाई गराउने, ठुलाे ठूलाठूला आवाजमा बाेलेर वा राेएरै भएपनि पुरुषलाई तह लगाउने, कुनै पुरुषले महिलाका कुरा अटेर गरी मुखमुख लागेमा वा गाली गरेमा वा आफूलाई दुख हुने काम कुराे गरेमा तुरुन्त महिला हिंसा भयाे भनी उजुरी दिने…. भन्ने निर्णय सुनाइएपछि सबैले ताली पड्काए। लड्डु साटासाट गरे।
एकजना महिला भने विना प्रतिकिया उदास मुहारमा एक्लै एक कुनामा बसिरहेकी थिइन्। २/४ जना अरु महिला आएर ` तिम्राे समस्या के हाे भन भने । हामी तिम्राे श्रीमानले ज्यादति गरेका छन् भने अहिल्यै ठीक लाउँछौं ´भन्न थाले। एकछिन पछि उनले भनिन्…. `सायद मेराे पीडाकाे उपाय छैन हाेला हजुरहरुसँग। म रिसाउँछु, उसलाई तथानाम गाली गर्छु, ऊ केही फर्काउँदैन, म रिसाउँदा पनि खुसाउँदा पनि र ऊ दुखी हुँदा पनि घरका सबैजसाे काम आफैं गर्छ।छाेराछाेरी उहीसँग झ्याम्मिन्छन्, म रिसाएर बाेल्दिन, ऊ चिया कि कफि कि तुलसी पानी भन्दै छेउमा आउँछ।
मलाई म माथि शंका गर्ने, मलाई हकार्ने, उस्तै पर्दा हात लाउने र सासुु ससुरा र अन्य पारिवारिक सदस्यसँग बढी जिम्मेवार बनाउने लाेग्ने चाहिएकाे छ, ऊ म रिसाउँछु कि?? भनेर सचेत भैरहन्छ र म उसँग चाहे जति रिसाउन र बाझ्न पाएकै छैन, मेराे याे पीडा म कसलाई सुनाऊँ?´
सबैजना अवाक भए ।