प्रधानमन्त्रीले चाहेमा स्वास्थ्य मन्त्री बन्न तयार छु: गगन थापा

everest kitchen
File photo

चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको बताएका छन् ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ को वडा कार्यलय उद्घाटन गर्न चितवन पुगे लगत्तै भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले देश कोरोना महामारीसँग लडिरहेका समयमा सरकारले स्वास्थ्यमन्त्री बनाउन नसकेको भन्दै प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्ने बताएका हुन् ।

थापाले भने, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्न दिनुपर्छ ।’

सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २–३ दिनभित्र सरकारले पूर्णता पाउने बताउँदै थापाले कांग्रेस महाधिवेशन सार्न नहुने पनि बताए ।

थापाले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धानमा नडराउन पनि सरकारलाई सुझाव दिएका हुन् ।

थापाले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर सरकारले ठीक गरेको पनि बताए। विपन्न लालपूर्जाविहीनका नाममा कार्यकर्ता मात्रै भर्ना गर्ने काम गरेकाले खारेजी ठीक भएको उनको भनाइ थियो ।