लघुकथा – कोशेली
कुञ्ज देबी उपाध्याय
बिर्खे र रामेको मेल मिलाप देखेर गाउँलेहरू कुरा गर्थे । यी दुइजना अघिल्लो जन्ममा पक्कै दाजुभाइ थिए होलान् । किन पो न भन्नु! एकैछिन छुट्टीन्दैनथे। जता पाको उतै खाने, सँगै पाठशाला जाने गर्थे। रामेको आमा बिरामी भएर अस्पताल भर्ती हुँदा पनि बिर्खे हप्तादिनसम्म रूंगेर त्यहीँ बस्यो ।
रामेको बुवालाई बिर्खेसँगको मित्रता पटक्कै मन पर्दैनथ्यों । ऊ कसरी छुट्याउने? भनेर मनमनै योजना बनाइरहेका थिए उनीहरूको रिजल्ट आयो। बिर्खे फर्स्ट आएको खबर सुनेर रामेको बुवा जितमान खुशी नै भएनन् ।रामे सेकंड भएता पनि धनी जितमानले उसलाई शहरको कलेजमा नाम लगाइ दिए। बिर्खे छेवैको कलेज पढ्न शुरू गर्यो। अब दुई साथी साता, महिनामा मात्र भेट हुन मिल्दथ्यो।
बाबाको पैसामा मौज मस्ती गर्दै रामेको दिन बित्दथ्यो भने कडा मेहनत गरेर पढ्ने गर्यो बिर्खे। एकदिन् ऊ सरकारी अधिकृत बन्यो। घरबाट निकै टाढा कुनै शहरमा नौकरी ज्वॉइन गर्यो । आमा सानैमा भगवानकी प्यारी भएकी हुनाले रामेकी आमाको गोड़ामा ढोगेर ऊ कर्मस्थलोतिर लाग्यो।
यतातिर रामे घर फर्केर त आयो तर ड्रग्स र रक्सीले उसलाइ अपांग पारि सकेको थियो। जितमानले एउटी केटी खोजेर हतार हतार बिहे गरि दिए।निम्तो बिर्खेलाई पनि पुग्यो तर ट्रेनिंगमा थियो ऊ। एकसाल नहुँदै रामे कालको प्यारो भयो। गाउँमा कोही खासै आफन्त नभएकाले बिर्खे सारै आउँदैनथ्यो। रामेको र उसकी आमाको मायाले एकदिन अकस्मात् रामेको घर आयो। उस्ले एउटा सुन्दर रातो साड़ी रामेकी पत्निलाई भनेर प्याकिङ्ग गरायो । बाहिरबाट कराउँदै पस्यो, तिमीहरूले बिर्से पनि म आउँन छाड़ने छैन।समय पाउँदा भन्दै मुखतिर नहेरीकन साड़ी दिएर हेर्यो र थुचुक्क भैँमा बसेर लामो सुस्केरा हाल्यो ! (शिवसागर असम)